त्रिशूली नदीमाथि मुलुककै लामो ‘आर्क ब्रिज’ निर्माण


Share This


नेपालबहस संवाददाता    37 Views

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन बजार र तनहुँको बेनीटार जोड्ने गरी त्रिशूली नदीमाथि मुलुककै लामो ‘आर्क ब्रिज’ निर्माण भइरहेको छ ।

सँगैको पुरानो पुलमा सवारी चाप र दुर्घटनाको जोखिम बढेपछि विकल्पका रूपमा तीन वर्षअघि नयाँ पुल बनाउन थालिएको हो । चितवनको मुग्लिन बजार र तनहुँको बेनीटार जोड्ने गरी त्रिशूली नदीमाथि निर्माणाधीन आर्क ब्रिज । तस्बिर स् हरिराम उप्रेती

करिब १४ करोड लागतमा निर्माणाधीन आर्क ब्रिज १ सय २० मिटर लामो हुनेछ । ‘यसको लुक राम्रो हुनेछ, बीचमा पिल्लर राख्नु पर्दैन,’ पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा भने, ‘त्यसका लागि वारिपारि दुई छेउमा सपोर्ट हुनेछ ।’ यो पुलमा फलाम कम प्रयोग हुने र आरसीसी प्रयोग बढी हुने उनले बताए । ‘लामोमा यो नै पहिलो आर्क ब्रिज हो,’ थापाले भने, ‘सात वर्षअघि चोभारमा बनेको यस्तै पुलको लम्बाइ ६० मिटर थियो ।’

मुग्लिनमा अहिले प्रयोगमा रहेको पुल सन् १९७२र७३ मा बनेको हो । १९७४ मा चीन सरकारले पुल हस्तान्तरण गरेको थियो । ‘पुरानो पुलले धेरै समस्या दियो, २०५० सालमा काठ फेरियो तर १० वर्ष पनि टिकेन,’ थापाले भने, ‘दिनहुँ समस्या आउन थाल्यो, जहाँ तहीं भ्वाङ पर्न थाल्यो ।’ यो पुल भएर दैनिक ७ हजार सवारी साधन गुड्छन् ।

सामान्यतया एउटा पुलको आयु ७०–७५ वर्ष हुन्छ, तर ओभरलोडले गर्दा आयु घट्ने गरेको छ । यो पुल निर्माणको जिम्मा एड्भेन्चर कन्स्ट्रक्सनले लिएको छ ।

असारमै यसको निर्माण सकिनुपर्ने भए पनि भारतबाट समयमै फलाम नआइपुग्दा ढिलो भएको कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक मोतीलाल शर्माले बताए । ‘केही समस्या नआए दसैंबाट पुल सञ्चालनमा ल्याउनेछौं,’ शर्माले भने, ‘अहिले निर्माण कार्य धमाधम भइरहेको छ ।’ यो पुललाई परीक्षणका रूपमा निर्माण गरिएको हो । यो सफल भए अन्यत्र पनि यस्तै प्रकृतिको पुल बनाइने उनले बताए ।

‘त्रिशूली नदीको बीचमा सपोर्ट दिन सकिँदैन, बीचमा जग खन्न पनि समस्या हुन्छ,’ उनले भने, ‘यो नदीमा बढी करेन्ट र गहिरो छ, यस्ता नदीमा आर्क, सस्पेन्सन र केबल स्टेट पुलहरू उपयुक्त हुन्छन् ।’ कर्णाली पुलजस्तो केबल स्टेट पुलका लागि लठ्ठालगायत निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने तर आर्क ब्रिजका लागि सिमेन्ट, छडजस्ता सामग्री नेपालमै उपलब्ध हुने भएकाले यो प्रविधि उपयुक्त हुने उनको भनाइ छ ।

कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया