प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा


Share This


नेपालबहस संवाददाता    353 Views

काठमाडौँ । नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो ।

चैत २८ गते वल्र्ड वेज म्यानपावर कम्पनीको किटानी जाहेरीमा कम्पनीका करार कर्मचारी प्रकाश रेग्मीलाई वृत्तले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार खेतान, सदस्यहरू रतनलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी, चन्द्रप्रकाश खेतान, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई, कम्पनी सचिव राजनप्रसाद अधिकारीसहित तत्कालीन कम्पनीको वैदेशिक रोजगार शाखा अधिकृत दिलीपकुमार अधिकारी र कर्मचारी प्रकाश रेग्मीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध प्रहरीले ७४ हजार ५ सय ५९ रुपैयाँ बिगोसहित ठगी मुद्दा दायर गरेको छ ।

धरौटीमा छुटे प्रकाश
नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा पक्राउ परेका प्रकाश रेग्मी धरौटीमा छुटेका छन् । गत आइतबार १ लाख धरौटीमा काठमाडौंमा जिल्ला अदालतले उनलाई रिहा गरेको हो ।

कम्पनीको संलग्नता भएको प्रहरीको आशंका
नक्कली पोलिसी जारी गर्नेमा कम्पनीकै कर्मचारीको संलग्नता रहेको प्रहरीको आशंका छ । आरोपित प्रकाश रेग्मी तत्कालीन समयमा कम्पनीकै कर्मचारी रहेकाले अन्य कर्मचारीको पनि संलग्नता भएको देखिने प्रहरीको जिकिर छ । त्यस्तै, प्रहरी अनुसन्धानका क्रममा कम्पनीले आवश्यक सहयोग नगर्नु, आवश्यक सूचना उपलब्ध नगराउनुले पनि कम्पनीको संलग्नता देखिने प्रहरीले बताएको छ । नक्कली पोलिसी जारी गर्नमा एकजना व्यक्तिको मात्रै संलग्नताले सम्भव नहुने र यसमा अन्य निकाय शंकाका घेरामा रहेको स्रोतको भनाइ छ ।

के हो घटना ?
बल्र्ड वेज म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका १८ जना व्यक्तिको नाममा नक्कली पोलिसी जारी गरिएको आरोपमा चैत २७ मा महानगरीय प्रहरी वृत्त कालिमाटीले प्रकाश रेग्मीलाई पक्राउ गरेको थियो । रेग्मी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता हुन् । तर, बिमा समितिले ०७३ मा वैदेशिक रोजगार बिमा अभिकर्ताको कमिसन हटाएपछि उनलाई कम्पनीले अस्थायी कर्मचारीका रूपमा नियुक्त गरेको थियो ।

उनीमार्फत नै पोलिसी खरिद गरिएकाले म्यानपावर कम्पनीका सञ्चालक दुर्गाबहादुर घिमिरेले गत चैत २७ मा रेग्मीलाई कालिमाटी प्रहरी वृत्तको जिम्मा लगाएका थिए । अनुसन्धानपछि प्रहरीकै समझदारीमा रेग्मीले १८ जना कामदारमध्ये मृत्यु भएका गोकर्ण बिडारीकी श्रीमती गोमा बिडारीलाई १३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । साथै बाँकी १७ जना कामदारको बाँकी अवधिका लागि पुनः बिमा गरिदिएका छन् ।

मलाई कम्पनीले फसायो : रेग्मी
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नक्कली बिमा जारी गरेको आरोप लगाइएका प्रकाश रेग्मी भने कम्पनीले आफूलाई फसाएको बताउँछन्  । ‘म कम्पनीको अस्थायी कर्मचारी मात्रै हो । मेरो काम कम्पनीलाई व्यवसाय खोजेर ल्याइदिने हो । त्योभन्दा बढी अधिकार मलाई छैन,’ उनले भने । नक्कली बिमा जारी भएका कामदारको व्यवसाय आफूले नै कम्पनीलाई दिएको, तर आफैँले पोलिसी जारी नगरेको उनको तर्क छ । ‘मैले आवश्यक कागजपत्र ल्याएर कम्पनीका कर्मचारीलाई दिने हो । त्यसैले कम्पनीमा स्थायी रूपमा काम गर्ने कर्मचारीकै मिलेमतोमा नक्कली पोलिसी जारी भएको हुन सक्छ,’ उनले भने ।

कम्पनीका कर्मचारीको कुनै संलग्नता छैन : कम्पनी
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा जारी भएको वैदेशिक रोजगारी (म्यादी) जीवन बिमामा कम्पनीका कुनै पनि कर्मचारीको संलग्नता नभएको कम्पनी सचिव राजनप्रसाद अधिकारीले बताए । उनका अनुसार आरोपित प्रकाश रेग्मीले नै नक्कली पेपर र स्ट्याम्प प्याड तयारी गरी पोलिसी जारी गरेका हुन् । ‘रेग्मीको आचरणमा कम्पनीलाई पहिलेदेखि नै शंका थियो । समयमा कार्यालय नआउने र बिमाशुल्क भुक्तान नगर्नेलगायत कारणले उनलाई हामीले ०७४ कात्तिकमा कम्पनीबाट बर्खास्त गरेका हौँ,’ उनले भने, ‘तर, नक्कली पोलिसी नै जारी गरेका होलान् भन्ने विषयमा हामीले कल्पना गरेनौँ ।’

कम्पनीका अनुसार ३ वर्षको अवधिमा प्रकाश रेग्मीमार्फत करिब ४७ हजार पोलिसी जारी भएको छ । ‘उक्त पोलिसी र म्यानपावर कम्पनीहरूसँग भएको पोलिसीको तुलना ग¥यौँ । तर, हालसम्म अन्य नक्कली पोलिसी देखिएको छैन,’ अधिकारीले भने । नक्कली पोलिसी छानबिन गर्ने क्रममा प्रहरीलाई आवश्यक सहयोग गरेको समेत उनले बताए । नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार