रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन, जीव विज्ञान सम्मेलन धुलिखेलमा


Share This


नेपालबहस संवाददाता    235 Views

२६ माघ, काठमाडौं । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ ।

मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।

सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । उनले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताए ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्थामा प्रविधिको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै सूचना प्रविधि विज्ञ हरि भण्डारीले सूचना प्रविधिको सही उपयोग गर्नसके विकासमा सहयोग पुग्ने बताए ।

उनले सरकारले आइटी क्षेत्रमा चासो कम दिएकोतर्फ ध्यानाकर्षण गराए । सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्यान, चितवनले जनाएको छ ।

‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ शुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिए ।

हरेक क्षेत्रको नेतृत्व गर्ने चितवनले अब सूचना प्रविधिको पनि नेतृत्व गर्नुपर्नेमा जोड दिए । मेलामा आउने अवलोकन कर्ताका लागि रु ५० र विद्यार्थीको लागि रु २५ को टिकटको व्यवस्था गरिएको छ ।

मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलाको उद्घाटनका क्रममा क्यान महासंघका अध्यक्ष हेमन्तकुमार चौरसिया, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चुननारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

जीव विज्ञान सम्मेलन धुलिखेलमा हुने
२६ माघ, काठमाडौं । जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल, रिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपाल र इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन, फिनल्याण्डको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

आयोजक समितिका सदस्य प्रज्वल राजभण्डारीले देशमै पहिलो बायो बैंक स्थापनाका लागि सहभागी प्रतिनिधिले योजना प्रस्तुत गर्ने जानकारी दिए ।

बायो बैंकको उद्देश्य मानव रक्त कोष तथा अन्य अंगको नमूना संकलन गरी अनुसन्धानका लागि वितरण गर्ने हो जसबाट मानव शरीरको उमेर, रोग, तथा वृद्धि विकासमा हुने आधारभूत प्रश्नको समाधान गर्न सहयोग गर्ने उनले बताए ।

‘बायो साइन्स एण्ड बायो–टेक्नोलोजी’ का विषयमा फिनल्याण्ड, डेनमार्क, जर्मनी, स्वीडेन र भारतबाट आउने १७ वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन नेपालमा बायो–बैंकिङको महत्व र ट्रान्सनेसनल मेडिसिन अनुसन्धानबारे केन्द्रित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार