लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन, टेलिकमले उठायो २२ लाख बक्यौता


Share This


नेपालबहस संवाददाता    365 Views

१२ माघ, काठमाडौं । आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ ।

राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो ।

राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । छ महिनाको अवधिमा आय करतर्फ रु २५ करोड ७४ लाख ९७ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ६३ लाख ९७ हजार, अन्तः शुल्क कर रु १३ करोड २३ लाख ९० हजार, बहाल कर रु पाँच करोड ८२ लाख ४८ हजार, स्वास्थ्य सेवा कर रु ३६ लाख २६ हजार तथा शिक्षा सेवा करतर्फ रु ६३ लाख ८१ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उदयराम केसीले जानकारी दिए ।

कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन हुनुमा व्यवसायीले समयमै कर बुझाउनुपर्छ भन्ने चेतनाको विकासका साथै कार्यालयको सक्रियता भएको जनाएको छ । त्यस्तै यसवर्ष कार्यालयले ठूला करदाताको घरमा नै पुगी पुस मसान्तसम्मको कर किस्ता दाखिलाको लागि पहलकदमी गरेको छ । आन्तरिक राजश्व कार्यालयमा हाल साना ठूला गरी ३० हजार करदाता रहेका छन् ।

टेलिकमद्वारा २२ लाख बक्यौता असुल

नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ ।

धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

“पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,” उनले भने– “ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता बुझाएका छन् ।”

टेलिकम कार्यालयले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना छुट दिएपछि तिर्नेको संख्या बढेको छ । कार्यालयले यस वर्षलाई पुरानो बक्यौता उठाउने वर्षको रुपमा लिएको छ । छुटको घोषणा नहुँदै बागलुङ कार्यालयले बक्यौता रकम उठाउन अभियान थालेको थियो । धवलागिरि क्षेत्रमा २०५८ सालदेखि ग्राहकले बक्यौता तिर्न बाँकी रहेको कार्यालय प्रमुख केशव शर्माले बताए ।

रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित् व्यक्ति समेत छन् । कार्यालयले पत्राचार गर्नेदेखि सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दैआएको छ । “वर्षौं अघिदेखिका ग्राहक पत्ता लगाएर ताकेता गरिरहेका छौंँ,” उनले भने । कतिपय सरकारी कार्यालय, संस्थान र परियोजनाले बक्यौता रकम तिर्न बाँकी छ ।

एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको कार्यालयले जनाएको छ । माघ मसान्तसम्म जरिवाना छुटको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ । नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम नरहने कार्यालय प्रमुख शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार