ठगी गरेको अभियोगमा ५ जना पक्राउ, काभ्रेबाट ७ जुवाडे प्रहरी नियन्त्रणमा


Share This


नेपालबहस संवाददाता    89 Views

१८ माघ, काठमाडौं । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पाँच जनालाई आज सार्वजनिक गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले भारतको नयाँदिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न मुलुक पठाइदिने भनी ठगी गरेको अभियोगमा गुल्मीका नारायण घिमिरे, रुपन्देहीका झपेन्द्र थापा मगर र अर्घाखाँचीका अर्जुन अर्याल तथा भारतका सन्दीप सिंह र रोनाल्ड गहतराजलाई बुधबार पक्राउ गरेको थियो ।

प्रहरीले अभियुक्तसँग नेपाली राहदानी १९, बङ्गलादेशी राहदानी २५ र भारतीय राहदानी एक थान तथा विभिन्न व्यक्तिको प्रहरी प्रतिवेदन ११ थान कागजातसहित होटल इन्काउन्टर ठमेलबाट बरामद गरेको हो ।

अभियुक्तमध्ये गहतराजले नयाँ दिल्लीमा ग्लोबल ट्रेडिङ कन्सल्टेन्सी र घिमिरेले पुतली सडकमा निकिता ग्लोबल कन्सल्टेन्सीबाट ठगी गर्दै आएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जिकिर गरेको छ । अभियुक्तलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।

७ जुवाडे पक्राउ
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित आज प्रहरीले पक्राउ गरेको छ ।

दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पक्राउ पर्नेमा पनौती–१ का छिरिङ तामाङ र रमेश तामाङ, पनौती–४ का शेरमान तामाङ, बुद्ध लामा र श्याम तामाङ तथा पनौती–७ बस्ने राज केसी र घरधनी दुर्गा रहेको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए । उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार