भाटभटेनी र नेपालटार बजारमा आगलागी, एक वेपत्ता, करेन्ट लागेर महिलाको मृत्यु


Share This


नेपालबहस संवाददाता    66 Views

२५ चैत, काठमाडौं । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।

सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।

बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए ।

आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचौ तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए।

उक्त सुपरमार्केट गत वर्षमात्र करीव रु ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो ।

आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुगेका थिए ।

मुख्यमन्त्री पोखरेललाई आगलागीको घटना र यसको नियन्त्रणका लागि भएका प्रयासका बारेमा सुरक्षा अधिकारीले जानकारी गराएका थिए ।

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति
त्यस्तै, उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ । आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि अहिले बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

तामाङको घरमा रातिको समयमा धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घर तथा लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण वस्तु जलेर नष्ट भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु
सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार