काठमाडौं लगायत देशको पश्चिमी भागमा झरी, मनाङमा हिमपात, सिरहामा एकको मृत्यु


Share This


नेपालबहस संवाददाता    110 Views

१० माघ, काठमाडौं । आज बिहान बाटै काठमाडौं उपत्यकामा पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावको कारण आज काठमाडौं लगायत देशभर मौसममा बदली भएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना रहेको विभागले जानएको छ । त्यसपछि तत्काल पानी पानी पर्ने सम्भावना नदेखिएको मौसमविद विभुति पोखरेलको भनाइ छ ।

उनले भनिन्, ‘अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पार्ने सिस्टम प्रवेश गरेको हो । यो आज दिनभर देशभरी सक्रिय हुन्छ ।’

मौसमविद पोखरेलका अनुसार काठमाडौंमा गत डिसेम्बरपछि पहिलोपटक बुधबार पानी परेको हो । त्यतिबेला शून्य दशमलव १ मिलिमिटर पानी परेको थियो । आज परेको पानीको मापन भने विभागले गरिसकेको छैन ।

काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । अछाममा असिनासमेत परेको छ भने डोटी, दिपायल, दाङलगायतका स्थानमा पानी परेको छ ।

मनाङमा भारी हिमपात

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले त्यहाँको जनजीवन कष्टकर बनाएको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

चिसोका कारण सिरहामा थप एकको मृत्यु

अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ ।

चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार