राष्ट्रपतिले दिइन् कृष्ण जन्माष्टमीको शुभकामना, बाढी र पहिरो पीडितको उद्धारमा जुट्न आग्रह


Share This


नेपालबहस संवाददाता    121 Views

३० साउन, काठमाडौं । भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा उनले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याएको उल्लेख गरिएकोछ ।

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उनले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ भन्ने सबैमा शुभकामना व्यक्त गरेकी छिन्।

प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

यसैवीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।

प्रतिकूल मौसमका कारण हवाई उडानमा कठिनाइ परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पु¥याइ कतिपय ठाउँमा राहत तथा उद्धारका काम अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय भएको बताउँदै राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हालैका दिनमा प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा ज्यान गुमाउनु परेको छ, सयौँ घाइते बन्नु परेको छ, हजारौँ बेपत्ता हुनुपरेको छ, बाढी र पहिरोको चपेटामा परेका हजारौँले उद्धार र राहतको पर्खाइमा कष्टसाध्य जीवन विताउनु परेको छ, लाखौँ प्रभावित भएको अवस्था छ, सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले उद्धार, राहत र पुनस्र्थापना गर्न योजना सहित अघि बढिरहेको सन्दर्भमा यस कार्यको उचित अनुगमन हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले दुःखको यस घडीमा धैर्य र साहस सँगाल्दै गैरसरकारी संघसंस्था, समुदाय, निजीक्षेत्र र सर्वसाधारणलाई पीडितको उद्धार, राहत र सुरक्षित वासस्थानको उचित प्रवन्ध मिलाउन आव्हान गरेकी छिन् ।

साथै राष्ट्रपतिले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएका मृतकका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गरेकी छिन् ।

विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १३३ को उपधारा ९२० बमोजिम तीनवटा विधेयक आज प्रमाणीकरण गरेकी छिन्।

व्यवस्थापिका–संसदबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका निम्ति पेश भएका ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’, ‘संघीय आकष्मिक कोष विधेयक, २०७४’ र ‘बोनस (पाँचौँ संशोधन) विधेयक, २०७४’ राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया