हलिगोठाला र भरौटेहरुको मानविय संवेदना !


Share This

नेपालबहस संवाददाता    

♥ शान्तिमान श्रेष्ठ ♥

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनुहुन्छ र उहाँको सघन उपचार चलिरा’छ । सर्वप्रथम उहाँको शिघ्र स्वास्थलाभको कामना !

हालैका दिनमा प्रधानमन्त्री ओलीका बारे सामाजिक संजाल र अनलाइन मिडियाहरुमा विभिन्न अफवाह फैलाइए । एकथरीहरु मरेमरोस, उखाने , रिप, मरेदेखि विदेशमा उपचार गर्न लाग्ने राज्यको पैसा बचत हुन्थ्यो , उखान सुन्न नपाइने भयो … इत्यादी खालको कटु बचन पोख्न ब्यस्त रहे । अर्कोथरीहरु यस्तो तितो बचन पोख्नेहरु प्रति खनिंदै मानवीय संवेदना हराएको , निर्दयी , हृदयहिन शैतानहरु भन्न भ्याए । यस सन्दर्भमा मेरो आफ्नै खाले दृष्टिकोण छ । लेखौं कि नलेखौं भन्ने द्धिविधामा थिएँ तर अन्त्यमा सोचें , कतिपयलाई तितो लागेपनि र कतिपयबाट आलोचना हुनसक्ने भएपनि लेख्न उचित ठाने ।

यहाँहरुको कमेन्टमा मानवताको कुरा आउला तर मेरो मानवता निर्मला जस्ताका लाशहरु देख्दा हराइसकेको छ 

केपी ओलीको स्वास्थ्यस्थितिको बारे आएको टिप्पणीले नेपाली सामाजिक मनोविज्ञान र झांगिदै गएको तथा उकुसमुकुस भएको क्रोध , पिडा, हिनताबोध र आवेगलाई प्रतिनिधित्व गर्छ । एउटा असक्त र बिरामी व्यक्तिको उपर यसखालको भद्दा टिप्पणी गर्ने संस्कृति हाम्रो हुँदै होइन । बसुधैब कुटुम्बकम अर्थात “सारा संसार नै एउटा परिवार हो“ भन्ने उच्च संस्कृति बोकेको देश हो हाम्रो । पाहुनालाई ईश्वर मान्ने संस्कृति बोकेको देश हो यो । ढुंगा ,माटो , भूिम , हावा,पानी, आकाश,पशु,पंछी,सर्प, रुख,विरुवा,सूर्य,चन्द्रमा समेत परमात्मा देख्ने र परमात्माको दर्शन गर्ने उच्चतम संस्कृति बोकेको मुलुक हो यो ।

हाम्रो देश अनि संस्कृतिको यस्तो उच्चतम मान्यतामा कसरी र कसको कारण खिया लाग्यो ? ओलीको स्वास्थ्यस्थितिमाथि आएको कटु टिप्पणी प्रति मानवीय संवेदना र हृदयशिलताको दुहाई दिएर राँको बाल्ने मित्रहरुलाई कत्तिको ख्याल छ कि नेपाली समाजमा हुर्किएको यसखालको कठोर र असंवेदनशील चित्तवृत्तिको कारकतत्व मध्यको एक स्वयंम केपी ओली पनि हुन !

एकजना मित्र अरुण नेपाली लुइँटेल लेख्छन :- “यहाँहरुको कमेन्टमा मानवताको कुरा आउला तर मेरो मानवता निर्मला जस्ताका लाशहरु देख्दा हराइसकेको छ, टिकापुरमा जलेका प्रहरीका लाशहरु देख्दा पचिसकेको छ, तराईका दाजुभाईहरुको लाश देख्दा बुझिसकेको छ, खाडीबाट बाकसमा हरेक दिन जाने गरिबको सन्तानको शरीरको बारेमा पढ्दा उडिसकेको छ । त्यसैले कुनै नेता बिरामी भएर अस्पताल भर्ना भएको सुनें भने उसको शिघ्र स्वास्थलाभको कामना गर्नु भन्दा अस्पतालबाट जिउँदै घर नफर्कियोस भन्ने सधैं कामना गरि नै रहेकोे हुन्छु ।”

 त्यस्तै अर्को पोष्टमा उनै लुईँटेल लेख्छन :- “हरेक बिहान पार्टीका कुनै न कुनै नेताको मृत्यु भएको खबर सुन्न पाउँ भन्दै हरेक दिन भगवानसँग प्रार्थना गर्छु, मानवता भएकाहरूलाई दुख लाग्ला तर मेरो मानवता हरेक गरिबको छोराछोरीसँगै सकिएको छ, देश लुट्ने लुटाहाहरुको लागि एक चिम्टी पनि रहेन त म के गरौ ?”

म मेरो देशको प्राचीन विरासत , मूल्य , मान्यता र संस्कृतिको मर्मलाई राम्ररी बुज्दछु

उनमा यो भाव अकारण आएको होइन , सबैलाई थाहा छ , यहाँ गरिबको भावना माथि खेलेर गरिबको मुक्ति , क्रान्तिकारी परिबर्तन , अग्रगामी छलाङ्गको मिठासपुर्ण नाराको लेपनमा गरिबलाई बन्दुक बोकाएर लाशको बिस्कुन सुकाउने र प्रकारान्तरले विदेशमा अर्बौ रुपैयाँ थुपार्ने धुर्त स्यालहरु छन । भारतको पैसा, भारतकै हतियार र भारतकै योजना मुताविक भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने भन्दै सोझासाझा जनजाति र गरिबहरुलाई हतियार भिराएर रगतको खोलो बगाई भारतसंगै घाँटी जोडेर आम जनतालाई उल्लू बनाउनेहरु छन ।

गरिबको मुक्ति , क्रान्तिकारी परिबर्तन र समग्र विकास भन्दै भोट लुट्पुटाएर माफिया र तस्करहरुको हित र ईच्छा अनुरुप काम गर्र्नेहरु छन । साम्राज्यवाद र विस्तारवादबिरुद्ध निर्णायक लडाई भन्दै रगत उमाल्ने भाषण छाँटेर युवाहरुलाई वराल्ने र प्रकारान्तरले तिनै साम्राज्यवादी र विस्तारवारवादीहरुको पैसा र प्रभावमा आफ्नै पुर्खाहरुले हजारौं वर्षको खोज , तप र अन्वेषणमार्फत हासिल गरेको धर्म , संस्कृति र परम्परामाथि प्रहार गर्नेहरु छन । समाजवादको नाममा देश लुट्नेहरु छन ।

सामान्य आमनागरिकहरु उपचार नपाएर अकालमा मर्न विवश हुनुपर्ने बिडम्बनापूर्ण अवस्था रहेको यो देशमा हुँदै नभएको बिरामी सिर्जना गरेर , सामान्य बिरामीको वहानामा विदेशको महंगो अस्पताल धाएर राज्यको अर्बौ रुपैयाँ लुटनेहरु छन । सामान्य नागरिकहरु बाँच्न र दैनिक जीवनयापन गर्न धौ..धौ परेको अवस्थामा तिनै जनतामाथि कर वृद्धि गरेर आफ्नै तलव भत्ता वृद्धि गर्ने हृदयहिन लुटेराहरु छन ।

यस्तोमा आफ्नो जिविकोपार्जनको लागि विदेशिन बाध्य एक सचेत नागरिकले आक्रोश र तुषको शब्द पोख्नु कुनै अनौठो होइन । यो अक्रोशको अभिव्यक्ति मलाई अस्वाभाविक लाग्दैन बरु नेताहरुको हृदयहिन र मानविय संवेदनाहिन गतिविधिको श्रुंखलाबद्ध आचरण , कार्यशैली र प्रवृत्तिप्रति आँखा चिम्लेर तिनै नेताहरुको अन्धभक्त भै पछि लाग्ने , तिनका लागि मर्न र मार्न तयार रहने , तिनका मलद्धारलाई पनि हरिद्धार देख्ने तर तिनका विरुद्धका आलोचनालाई चाहिं संवेदनहिनताको ट्याग भिराउने हलिगोठालाहरुको वत्ति अस्वाभाविक लाग्छन ।

संसारको हरेक प्राणी वा चिजवस्तु एकअर्कासँग सम्बन्धित र निर्भर छन ।

गुडदै गरेको बसलाई बमले उडाउँदा , वर्गविहिन समाज निर्माणको नाममा मन्छेको टाउको गिंड्दै गर्दा , १५ खर्ब ऋणको भारी बोकाईएका जनतालाई थप ऋणको भार थपिने गरि कर वृद्धि गरेर आफ्नै तलवभत्ता वृिद्ध गर्दा र उपचारको नाममा राज्यको अर्बौ रुपैयाँ स्वाहा पार्दा यिनको मानविय संवेदना कहाँ बेपत्ता भाथ्यो ?

म मेरो देशको प्राचीन विरासत , मूल्य , मान्यता र संस्कृतिको मर्मलाई राम्ररी बुज्दछु । यसर्थ कुनैपनि व्यक्तिको दुःखद अवस्थामा खुशियाली मनाउने प्रवृत्तिको पक्षपोषण गर्न सक्दिन । साथसाथै यो पनि भन्न चाहन्छु कि तराईमा पुलिसको गोली लागेर मान्छे मर्दा “एउटा आँप खस्यो“ भन्दै प्रधानमन्त्री ओलीले भाषण गर्दा सिठ्ठी बजाउँदै र गलल्ल हाँस्दै ताली ठोक्नेहरु , आमजनताको स्वास्थ्य अधिकारको लागि वृद्ध डाक्टर गोविन्द केसी अनशन बस्दा जिम्मेवार पदमा बसेका प्रधानमन्त्री ओलीले “मरे मरोस त्यो गोविन्दे“ जस्ता तुच्छ व्यवहार गर्दा ओलीको शैलीमा हो मा हो मिलाउँदै गोविन्द केसीलाइ पागल घोषणा गर्नेहरु , केसीका जायज मागको पक्षमा अस्पतालमा आवाज उठाउँदा डाक्टर र नर्समाथि निर्ममतापूर्वक प्रहरी दमन गर्नेहरु र यस्तो दमनको पक्षमा “ ठोक … ठोक छातीमा गोली“ भन्दै सामाजिक संजाल रंगाउने हलिगोठाला र भरौटेहरुले मानविय संवेदनाको अर्तिबुद्धि नछाँटे हुन्छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको सन्दर्भमा आएको अशोभनीय टिप्पणी प्िरत धेरैले आलोचना गरेका पनि छन्, जुन सकारात्मक हो । यो तप्काको बारे मलाई केही भन्नु छैन तर विगतमा मानविय दृष्टिकोणले संवेदनहिन बक्तव्य र घटनाकाप्रति अन्ध समर्थन जनाउँदै अहिले चाहिं मानविय संवेदनाको अर्ति छाँटने हनुमानहरु देखेर ताज्जुब लाग्दैछ र यो आलेख प्रष्ट रुपले तिनैकाप्रति लक्षित हो । यी हलिगोठालाहरुलाई मेरो केही प्रश्न र जिज्ञासा छन । शालिन रुपले आफ्नो विमति राख्न सक्नेछन ।

१) जस्तो बिउ रोप्यो त्यस्तै फल लाग्छ , विष रोपेर अमृतको फल लाग्दैन अझ भनौं विष रोपेर अमृतको आशा गर्नु नै मुर्खताको परिचय हो र यस्तै आशा केही बुद्धिहीन प्राणीहरुबाट देखियो । जिउँदो व्यक्तिको लाशको पुतला बनाएर शंख फुक्दै हिंडनु संस्कार हो कि कुसंस्कार हो ? यो मानविय संवेदनाको परिचय हो कि संवेदनहिनताको परिचय हो ??? यस्तो संस्कार सिकाउनेमा प्रधानमन्त्री केपी ओली पर्छन कि पर्दैनन ?

२) संस्कृत भाषा वैश्विक भाषा हो, दुनियाँमा संस्कृत मात्र एउटा यस्तो भाषा हो जसले विश्वलाई एउटा परिवार मान्छ र शिक्षा दिन्छ । “वसुधैव कुटुम्बकम“ घोषणा गर्छ । “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्द दुःख भाग्भवेत् ।“ यहि नै यो देवभूमिको चिन्तनको आधारशिला हो । तर बडो बिडम्बनाका साथ भन्नुपर्छ , युरोपियन युनियन र भ्याटिकन सिटीबाट भित्रने डलर खाएर यो आधारशिलालाई भत्काउन पाठ्यक्रमबाट संस्कृत भाषा र नैतिक शिक्षा हटाउने मतियार मध्यका एक केपी ओली पनि हुन । नैतिक शिक्षाबाट पतन भएपछि अनैतिक हुनु र संस्कृत भाषाबाट बंचित भएर कुसंस्कृत हुनु स्वभाविक हो । कर्मको फल सबैले भोग्न पर्छ ।

३) प्रकृित पुजा यो देशको पहिचान , जीवनदर्शन र आधारशिला हो । प्रकृित पुजा सँग रहश्यमय विषद बिज्ञान जोडिएको छ । प्रकृित पुजाको मुल मर्म हो । संसारको हरेक प्राणी वा चिजवस्तु एकअर्कासँग सम्बन्धित र निर्भर छन । एउटाको दुःख अर्कोसँग निरपेक्ष रहन सक्दैन । एउटामा हुने परिवर्तनबाट अर्को निरपेक्ष रहन सक्दैन । धर्तीमा एउटा कमिला मर्दा त्यसको प्रभाव यो धर्तीको अर्को प्राणीमा मात्र होइन सूर्यमा समेत पर्छ । किनकी सारा व्रम्हाण्ड नै एउटा परिवार हो , एउटै शरीरको भिन्न भिन्न अंग हो । त्यसैले त यो भुमिमा लाखौं वर्षदेखि भूमि , आकाश , जल , वायु , सूर्य, चन्द्र, पशु , पंक्षी , वृक्ष ईत्यादिको पुजा गर्ने र श्रद्धा गर्ने संस्कृति छ । यतिमात्र होइन , हाम्रा ऋर्षिमुनि र पुर्खाहरुले हामीलाई गहनतम शिक्षा दिए । पदार्थ र परमात्मा अलगअलग होइन , पदार्थमा परमात्मा हुन्छ अर्थात चेतनको अंश हुन्छ । त्यसैले प्राणीमा मात्र होइन पदार्थमा समेत परमात्माको बोध गर्ने कला सिकाए । वृक्ष , पशु, पंक्षी , जल , वायु , आकाशमा परमात्मा अर्थात चेतनको अस्तित्वको बोध गर्ने र ती प्रति एकात्मकतापुर्ण तालमेल गर्ने कला सिकाए । पदार्थमा परमात्माको बोध गर्ने बिधिको रुपमा ढुंगालाई प्रतिक मान्दै पुज्ने संस्कार सिकाए ।

 ४) हाम्रा ऋषिहरुले घोषणा गरे, सारा जगत ॐ को विस्तार हो अर्थात ध्वनीको विस्तार हो , आज बिज्ञानले प्रमाणित गरेको छ , सारा जगत उर्जाको विस्तार हो । अब बिज्ञानलाई सोधौं ध्वनी के हो ? बिज्ञान भन्छ :- ध्वनी पनि उर्जा नै हो । यसैले हामीले दशौं हजार बर्षदेिख प्रकृतिको पूजा गर्दै आयौं । मनुष्यमा यो चेत जति बढी हुन्छ र यसप्रति जति लगाव हुन्छ त्यो मनुष्य त्यतिनै मानविय रुपले संवेदनशिल र हृदयशिल हुन्छ । क्रान्ति र प्रगतिशिलताको भाषण ठोक्दै , गीत गाउँदै प्रकृति पुजालाई रुढीवादको जामा पहिराएर मुर्तिमा मुत्न सिकाउने , गाई काट्न उक्साउने प्रचन्ड र ओलीहरु नै हुन !

 ५) मनुष्य अकारण हृदयशून्य हुँदैन । यति हो :- पद , प्रतिष्ठा , शक्ति र धनको मोहमा नेताहरुले जस्तो बिउ रोपेका थिए त्यस्तै फल पाक्दैछ र आफैतर्फ सोझिएको छ । यसर्थ ,हलिगोठाला र बुद्धिहिन लफंगाहरुले मानविय संवेदनाको दुहाई दिनुको कुनै अर्थ छैन ।
माथि भनिसकें , मनुष्य अकारण हृदयशून्य र संवेदनहिन हुँदैन । यसको लागि लामो सिलसिलाको जरुरत हुन्छ ।

म अब केही मनोवैज्ञानिक पहलहरुमा प्रवेश गर्छू ।

सेनालाई शुरुवाती तालिम दिंदा बालुवा भरिएको बोरामा राईफलको टुप्पोमा जडित धारिलो छुराले निर्दयतापूर्वक घोंच्न लगाईन्छ । मनुष्यले अचानक कसैको छातीमा छुरा रोप्न सक्दैन । यसको लागि सिलसिलाबद्ध रुपले अभ्यस्त हुन पर्छ । बोरामा राइफलको छुरा रोप्ने क्रममा सेनामा यस्तो भाव भरिन्छ मानौं कि ती ज्युँदा मानिसहरु हुन र ती ज्युँदा मानिसहरुको छातीमा छुरा रोपिएको छ । एउटा पक्का मनुष्यले अर्को मनुष्यको हत्या गर्न बिलकुल असम्भव हुन्छ ।

त्यसैले त सेनाको तालिममा सेनाभित्रको मनुष्यता समाप्त गर्न युद्धको बखत नाम होइन नम्बरको चिनारी दिइन्छ :- १०१ , १०२ ,१०३….. इत्यादि … । लडाईमा कुनै सेनाको मृत्यु भएमा फलानो नामको सेनाको मृत्यु भयो भनिंदैन । १०२ नम्बरले विरगति प्राप्त गर्यो भनिन्छ र तत्काल अर्को सेनालाई १०२ नम्बरमा पूर्ती गरिन्छ ता कि अन्य सेनालाई मित्र सेनाको अनुपस्थितिको अभाष पनि नहोस । खासमा सैनिक तालिममा सेनालाई जतिसक्दो जडको रुपमा परिवर्तन गरिन्छ किनकी चेतनशिलसँग त तर्क हुन्छ , मौलिक विचार हुन्छ , आफ्नै निर्णय हुन्छ , चेतनशिल व्यक्तिबाट कसैको हत्या गराउनु कठिनाई मात्र होइन असम्भव हुन्छ । यसैले सैनिक जीवनमा तर्क गर्ने र विचार गर्ने प्रणाली नष्ट गर्न कुनै पनि आदेशको सन्दर्भमा प्रश्न गर्न र जिज्ञासा राख्न पूर्णत प्रतिवन्ध हुन्छ ।

डार्विनको सिद्धान्तले भन्छ :- शरीरको कुनै पनि अंगको उपयोग गर्न छोडेमा उक्त अंग जड जस्तै हुन्छ अर्थात विस्तारै मृततुल्य हुन्छ । यस अर्थमा सेनाको मष्तिस्क मृततुल्य पारिन्छ । सबैलाई थाहा छ, कम्युनिस्ट स्कुलिङमा पनि कार्यकर्ताहरुलाई कठोर बनाउन आफ्नै खाले मनोवैज्ञानिक प्रशिक्षण दिईन्छ । क्याडरवेस्ड संगठनपनि एक किसिमले सेनाको जस्तै चेन अफ कमान्डमा आधारित संगठनात्मक संरचना हो । कम्युनिस्ट पार्टीको संगठनात्मक अनुशासन अन्तर्गत तल्लो कमिटी माथिल्लो कमिटीप्रति पूर्णत उत्तरदायी हुन्छ भन्ने प्रावधानको मुलमर्म नै यहि हो ।

“अप्पो दिपः भव ” भन्ने बुद्धको शिक्षासँग कम्युनिस्ट पार्टीको संगठनात्मक अनुशासनको कहिं कतै मेल नखाने मात्र होइन ठीक बिपरित देखिन्छ । सर्वहाराको अधिनायकत्व र वर्गविहिन समाजको निर्माण हेतु हालसम्म संसारमा ५० करोड भन्दा बढिको ज्यान गैसकेको छ । त्यसमा नेपालको १७ हजार पनि जोड्नु पर्छ । यत्रा मान्छे मर्दै गर्दा मानविय संवेदना कता लापत्ता भाथ्यो होला !!! बिचरी निर्मला पन्तको सन्दर्भमा प्रधानमन्त्री ज्यूको मानविय संवेदना छेउछाउ चाहार्न पनि आएको देखिएन त ! यिनका मानविय संवेदना अधिकारी दम्पत्ती र उज्जैन श्रेष्ठको सन्दर्भमा कुन लोकमा मुन्टिरा’छ !!!! अपराधीलाई माफी दिई जेलमुक्त गर्नु नै अब्बल दर्जाको मानबिय संवेदना भन्ने हुन कि !!!

( पुनश्चः प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना 🌹🌹🌹🌹 तर उनको रुखो प्रहारमा सिठ्ठी फुक्दै ताली ठोक्ने हनुप्रसादहरुले मानविय संवेदनाको अर्तिबुिद्ध छाँट्नु अघि टिचिङ हस्पिटलमा वर्षौंदेखि लम्पसार परेको नन्दप्रसाद अधिकारीको लाशलाई ७ चक्कर लगाउनुहोला अनि भाषणमा होइन व्यवहारमा आम जनताको मुक्तिदाता डा.गोविन्द केसीको खुट्टामा ढोग्नुहोला )

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार