fbpx

प्रदीप र विशालको डिएनए रिपोर्ट कञ्चनपुर पठाइयो, दुवै रिपोर्ट नेगेटिभ



नेपालबहस संवाददाता
 




काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । सो ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौँमार्फत कञ्चनपुर पठाइएको छ ।

अभियुक्तको रूपमा हिरासतमा लिइए पनि रावल र चौधरीमाथि अभियोग पुष्टि गर्ने कुनै भरपर्दो आधार भने थिएन । उनीहरूको डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएको र सो रिपोर्ट सोमबार नै कञ्चनपुर पठाइसकिएको हो । आजै कञ्चनपुर पुगेको रिपोर्ट उतै सरकारी वकिलको रोहबरमा खोलिने जनाइएको छ ।

रावलले हत्या गरेको स्वीकारेको प्रारम्भिक बयानमा बताएको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । तर पछि उनीहरू निर्मला हत्या भएको दिन कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमै रहेको कुरा बाहिर आएको थियो ।

स्रोतका रावल र चौधरीको डिएनए पनि निर्मलाको भेजिनल स्वाबबाट संकलन गरिएको डिएनए प्रोफाइलसँग ‘म्याचिङ’ भएको छैन । यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक रोगी दीलिपसिंह विष्टको पनि डिएनए मिलेको थिएन ।

त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छोराको समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैको पनि डिएनए म्याच भएको छैन ।

निर्मला हत्याको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

रावलले हत्या गरेको स्वीकारेको प्रारम्भिक बयानमा बताएको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । तर पछि उनीहरू निर्मला हत्या भएको दिन कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमै रहेको कुरा बाहिर आएको थियो ।


सम्बन्धित समाचार