fbpx

ने क पा स्थायी समिति बैठकमा मन्त्रीमण्डल पुनर्गठनको माग



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) स्थायी समितिको बैठक भोली सम्मका लागि स्थगित भएको छ । शनिवारदेखि शुरु भएको स्थायी कमिटीको बैठक आज पौने तीन घण्टा बसेर स्थगित भएको छ ।

ने क पाको स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ। वर्तमान सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको र त्यसले गर्दा जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रीमण्डल पुनर्गठनको माग गरेका छन् ।

बैठकमा नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका छन्। उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को कामको समग्र मूल्यांकन गर्दै मन्त्री हेरफेरको माग गरेका हुन्। पार्टीमा काम गर्न सवल, सक्षमहरू एकसे एक रहेको बताउँदै असक्षम, विवादमा परेकालाई मन्त्रिपरिषदमा राखिरहनु नहुनेमा उनले जोड दिए।

विधान स्थायी कमिटीको सुझाव विपरित आएकाले सच्याउन आग्रह गर्दै नेता पन्तले स्थायी कमिटीको अधिकार कटौती गरी सचिवालयमा केन्द्रिकृत गरिएकाले ती अधिकार स्थायी कमिटीमै फिर्ता गर्नसमेत माग गरेका छन्।

आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले धारणा राखेका हुन् । बैठक भोलि बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्ने छ। आजसम्म स्थायी कमिटीका २६ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन्।

ने क पाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ। बैठकमा दुई अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र सचिवालय सदस्य वामदेव गौतमले पेश गरेको फरक प्रस्ताव माथि ८ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार