fbpx

कार्यदलको सुझावपछि राष्ट्र बैंकले चाल्यो पहिलो कदम, आमरण अनशन तोडियो



नेपालबहस संवाददाता
 




काठमाडौं । पूँजी बजारको समस्या समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव अनुसार नेपाल राष्ट्र बैंकले व्याजदर तथा स्प्रेडदर घटाउन प्रकृया अघि बढाएको जानकारी दिएको छ । राष्ट्र बैंकले समस्या समाधानका लागि भन्दै आन्तरिक गृहकार्य सुरु गरेको हो। मुद्रा तथा पूँजी बजारको समस्या समाधानका लागि गठित कार्यदलले हिजो मात्र अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाए पछि अर्थले सोही अनुसार मातहतका निकायलाई परिपत्र गरेको थियो ।

कार्यदलको संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ थिए । श्रेष्ठ नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि राष्ट्र बैंकले बिहीबारदेखि गृहकार्य थालेको राष्ट्र बैंकले जनाएको छ । स्रोतका अनुसार निक्षेपको ब्याजदर नयाँ शैलीमा निर्धारण गर्ने, पुनरकर्जा कोषको आकार बढाउने तथा शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्ने, बैंकहरुको स्प्रेड दर घटाउने लगायत विषयमा केही दिनमा नै निर्देशन जारी हुने भएको छ ।

यसै सिलसिलामा आज राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुसँग सामुहिक भेटघाट र कुराकानी गरेको छ । बैंकहरूले मुद्धती निक्षेपको व्याजदरमा सहकारी संस्थाले झै प्रतिस्पर्धा गर्न थालेपछि अवस्था असामान्य बनेको थियो । शेयर बजारका लगानीकर्तासँग भिलेनको रुपमा प्रस्तुत भएका अर्थमन्त्री बैंकहरुसँग पनि त्यही रुपमा प्रकट हुने अवस्था बन्दै गयो । उता राष्ट्र बैंकका गर्भनर पनि बैंकहरूको कदमप्रति सन्तुष्ठ हुन नसक्ने भन्दै अभिव्यक्ति दिन थाले ।

बैंकर एशोसिएसनको कार्यक्रममा गर्भनरले तत्काल व्याजदरको प्रतिस्पर्धा नरोकिए कारबाही गर्ने चेतावनी समेत दिएका थिए भने अर्थमन्त्री खतिवडाले बैंकहरूको कृयाकलापलाई केटाकेटीपनको संज्ञा दिएका थिए ।

पर्ख र हेरको अवस्थामा रहेको बैंकहरुको अविभावकत्व गरिरहेको राष्ट्र बैंकले नै कार्यदलको प्रतिवेदन आएको भालिपल्टै सबै बैंकका सिइओहरूलाई बोलाएर व्याजदरको बारेमा पुर्नविचार गर्न भनेका छन् । एकातर्फ लगानीकर्ताको चरणवद्ध आन्दोलन र अर्कोतर्फ बैंकहरुको प्रतिस्पर्धाका कारण अत्तालिएका अर्थमन्त्रीलाई राष्ट्र बैंकले एक ठाउँमा ल्याउने काम गरेको छ ।

उता अर्थमन्त्रीको राजीनमा माग गर्दै अनशन बसेका लगानीकर्ताले भने अधिकांश मागहरु सम्बोधन हुने प्रक्रियामा रहेको भन्दै आज साँझ अनशन तोडेका छन् । सरकारले कुनै आधिकारीक पत्र नदिएसम्म अनशन नतोड्ने अडानमा रहेका उनीहरुले पत्रकार सम्मेलन गरेर अनशन रोकिएको जानकारी दिएका छन् । यद्यपी दवाब समुहको मागका सम्बन्धमा कुनै पनि निकायले औपचारिक रुपमा अनसनरत पक्षसँग वार्ता र छलफल गरेको छैन । तर, कार्यदलले बुझाएको प्रतिवेदनमा उनीहरुले उठान गरेका राजीनामा बाहेकका अधिकांश मागहरु समेटिएको छ ।


सम्बन्धित समाचार