fbpx

राष्ट्र बैंकको चेतावनीपछि बैंकरहरु डराए, जनताले घटायो ब्याजदर



नेपालबहस संवाददाता
 



nrb-nepal

काठमाडौं । नेपाल बैंकर्स संघको भद्र सहमती तोडिएपछि श्रृजना भएको ब्याजदर बढाउने प्रतिस्पर्धामा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्वले खुट्टा कमाउँदा बैंकहरुबीच नै निक्षेप खोसाखोसको अवस्था आएको थियो । यसले आम लगानीकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो । अर्थमन्त्री नै रनभुल्लमा पर्ने अवस्था श्रृजना गरायो । जुन जस्ता परिस्थितिहरु देखिए त्यो घाम जस्तै छ, सर्वविदितै छ । जसको कथा यहाँ भनिरहनु परेन । अस्वस्थ प्रतिस्पर्धाको सीमाना नाघ्ने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले आफ्नो अभिभावकत्वको भूमिका देखाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले आज कडा चेतावनी दिएपछि निक्षेप खोसाखोस र व्याजदरको उच्चतम रेटहरु घट्न थालेका छन् ।

 

थप समाचार यो लिंकमा हेर्नुहोला……

बैंकर्स संघको कमजोर नेतृत्व : अध्यक्ष ढुंगाना असक्षम सावित !

 

आज बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकले चेतावनी दिएको थियो । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो, मेरो नेतृत्वमा हिजोमात्रै अर्थ मन्त्रालयलाई एउटा प्रतिवेदन पनि बुझाएको छु । डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, ‘हामीले ब्याजदर नघटाए कडा रुपमा प्रस्तुत हुन्छौं भनेका छौं ।’

बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरद्वय श्रेष्ठ र चिन्तामणि शिवाकोटी पनि सहभागी थिए । करिब २ घण्टा चलेको बैठक अपरान्ह ३ बजेमात्रै सकिएको थियो ।

डेपुटी गभर्नर श्रेष्ठका अनुसार राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।

राष्ट्र बैंकको कडा चेतावनीलगत्तै बैंकर्स स‌ंघको बैठक बसेको थियो । बैंकर्स संघका एक सदस्यले नेपाल बहससँगको कुराकानीमा भनेका छन्, भद्र सहमती तोडिएपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा नै चल्यो । ब्याजदरले धेरै चर्चा परिचर्चा भयो, राष्ट्र बैंकले पनि हामीलाई घटाउन भनेको छ । भोलिदेखि नै घटाउने काम सुरु हुन्छ ।

थप समाचार यो लिंकमा हेर्नुहोला……

बैंकहरु सहकारीमा रुपान्तरण हुन थालेपछि अर्थमन्त्री हायल कायल !

 

कुमारी, नबिल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धती निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्‍याइसकेका छन् । अब न्यूनतम ब्याज अन्तर २ प्रतिशत राखिने छ । यसले कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशतमा झरेको ती बैंकरले बताए । उनका अनुसार एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशतमाथि गएका  ५ बैंकहरुलाई गरेकाे कार्वाही फिर्ता गर्ने भएपछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् । शुक्रबारदेखि नै नयाँ व्याजदर लागू हुने गरी छलफल सकिएको छ ।

यसैबीच, कुमारी बैंक तथा जनता बैंक नेपाल लिमिटेडले ब्याजदर घटाएको जानकारी दिएका छन् । आजै साँझ दुवै बैंकले सूचना जारी गर्दै विशेष मुद्दती योजना बन्द गरिएको जानकारी दिएका हुन् । कुमारी बैंकले लागु गरेको बार्षिक १३ र जनताले दिएकाे १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने सो मुद्दती योजना आजदेखि  बन्द गरेको जनाएको छन् ।


सम्बन्धित समाचार