fbpx

९६ लाख खर्चेर प्रहरीले ल्यायो अत्याधुनिक सुविधासहितको भ्यान



नेपालबहस संवाददाता
 




काठमाडौं ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको Mobile Forensic Investigation Van प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गर्दै संगठनलाई साधन श्रोत तथा प्रविधियुक्त बनाउनु संगठनको प्राथमिकता रहेको बताए । यस्ता साधन श्रोतको उचित प्रयोग हुनुपर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षा अनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमान्दारिता एवम् निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्ता प्रविधिहरुलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने बताए । साथै उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरुले यस्ता प्रविधिको जिम्मेवारीपूर्वक समूचित प्रयोग गर्न निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्यायले कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण एवं Mobile Forensic Investigation Van को महत्व सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागले अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्य अनुरुप Crime Action Plan (CAP) अन्तर्गत आर्थिक बर्ष २०७४/०७५ को बजेटबाट उक्त भ्यान खरिद गरिएको जानकारी दिए ।

९६ लाखमा खरिद गरिएको उक्त Mobile Forensic Investigation Van मा General Crime Scene Investigation Kit, DNA Sample, Evidence Packing & Collection Kit लगायतका ४५ लाख रुपैयाँ बराबरका विभिन्न १६ प्रकारका  Forensic Investigation Kit जडान गरिएका छन्  । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव माहनिरीक्षकहरु लगायत उच्च प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार