fbpx

जिल्ला सहजीकरण समिति गठन गरिने



नेपालबहस संवाददाता
 




काठमाडौं । पुनर्निर्माण जिल्ला समन्वय समिति काठमाडौँले जिल्लास्तरमा पुनर्निर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न जिल्ला सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपाल तथा उपप्रधानमन्त्री एवं काठमाडौँ ५ का सांसद ईश्वर पोखरेलको उपस्थितिमा बिहबिार बसेको समितिको बैठकले पुनर्निर्माण जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, मालपोत कार्यालयका जिल्ला प्रमुख, नापी कार्यालयका जिल्ला प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, पुनर्निर्माण प्राधिकरणका शिक्षा, भवन र पुरातत्वका आयोजना प्रमुख एवं बैंकका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिको बैठक प्रत्येक महीना बस्ने र पुनर्निर्माणसम्बन्धी गतिविधिको समीक्षा गर्ने तथा आवश्यक सहजीकरण गर्ने अधिकार दिएको छ । साथै स्थानीयस्तरको पुनर्निर्माण कार्यको समन्वय एवं सहजीकरण गर्न काठमाडौँ महानगरपालिका र सबै नगरपालिकामा स्थानीय पुनर्निर्माण समन्वय समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

स्थानीय पुनर्निर्माण समन्वय समितिमा सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् । समितिको बैठक पनि कम्तीमा महीनाको एकपटक बस्नेछ ।

समितिले आफ्नो तहको पुनर्निर्माणसम्बन्धी गतिविधिको प्रगति समीक्षा गरी जिल्लास्तरीय पुनर्निर्माण सहजीकरण समितिमा पठाउने छन् । त्यसैगरी बैठकले विभिन्न स्थानीय तहमा आवास अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाएका लाभग्राहीको विवरण तयारी पार्ने, घर निर्माण नगर्नुका कारण पत्ता लगाउने र झुठो विवरण दिएर घर बनाएको भए अनुदान रकम फिर्ता गर्न लगाउने निर्णय पनि गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले पुनर्निर्माणका क्रममा काठमाडौँलगायत जिल्लामा रहेका सम्पदा बस्तीको संरक्षण गर्ने र मौलिक पहिचान जोगिने गरी पुनर्निर्माण गर्न सुझाव दिए ।

उनले स्थानीय तहमा पुनर्निर्माणको जिम्मेवारी आएसँगै स्थानीय तहको निपूर्णताको परीक्षण हुने बताए । उपप्रधानमन्त्री पोखरेलले पुनर्निर्माणमा स्थानीय तहको व्यापक परिचालनको औपचारिक थालनी भएको उल्लेख गर्दै संविधान तथा ऐनमा परिभाषित जिम्मेवारीअनुसार आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय पुनर्निर्माणको संस्थागत स्मरण, ज्ञान तथा अनुभवलाई स्थानीय तहमा हस्तान्तरण गर्न पुनर्निर्माणमा स्थानीय तहलाई अझ व्यापकरुपमा सहभागी गराउँदै लगिएको बताए ।

बैठकमा काठमाडौँ जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, काठमाडौँका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एवं भवन) का आयोजना प्रमुखलगायतको सहभागिता थियो । रासस


सम्बन्धित समाचार