fbpx

सत्य निरूपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेकी हुन । विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ । २७ माघ २०७१ मा गठन भएका यी आयोगहरूका म्याद शनिबार सकिदै थियो ।

आयोगबाट सम्पादन हुनुपर्ने काम बाँकी रहेको भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गरेर दुबै आयोगको म्याद थप गरेको हो । आयोगमा दर्ता भएका ६२ हजार ९५० द्वन्द्वकालीन मुद्दा टुँगो लाग्न सकेको छैन ।आयोगका अध्यक्ष र सदस्यको पदावधि भने २०७५ चैत मसान्तसम्म मात्रै कायम रहने भएको छ ।

यसअघि बहालवाला अध्यक्ष र सदस्यको म्याद आयोग विघटन नभएसम्म रहने व्यवस्था थियो । अब नियुक्त हुने पदाधिकारीको म्याद निर्धारित पदावधि सकिएपछि स्वतः समाप्त हुने व्यवस्था गरिएको छ । यसैबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले भने पदबाट राजीनामा दिइसकेका छन् ।


सम्बन्धित समाचार