fbpx

नेकपामा थप तरंग,समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा !



नेपालबहस संवाददाता
 




काठमाडौं । आइतबार प्रकाशित पत्रपत्रिकाहरुले फरक–फरक विषयलाई प्राथमिकता दिँदै समाचार छापेका छन् । आज नेकपाभित्रको अन्तरद्वन्द्व, विभिन्न सरकारी निकायमा भइरहेको भ्रष्टाचार, अनियमितता, सरकारले ल्याएका विकास योजनालगायतका खबर प्राथमिकतामा परेका छन् ।

कान्तिपुरले ‘नेकपामा थप तरंग’ शीर्षकको समाचारलाई मुखपृष्ठमा प्राथमिकता साथ प्रकाशित गरेको छ । कान्तिपुरले लेखेको छ– नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रुपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल चिप्लिएको टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् ।

कान्तिपुरकै अर्को समाचार ‘सीमा नाघेर इन्धन खर्च’ शीर्षकमा छ । संघीय संसदका पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ ।

उनीहरुले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् । इन्धनवापत सभामुख कृष्णबहादुर महराले ३ लाख ५८ हजार, उपसभामुख शिवमाया तुम्बाहाम्फेले ५८ हजार २५२, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले १० हजा ५० र उपाध्यक्ष शशिकला दाहालले ५२ हजार ८०९ रुपैयाँ बढी लिएको पाइएको छ ।

‘विदेशबाट फर्केकालाई ५ करोडसम्म कर्जा’ शीर्षकमा कारोबारले समाचार छापेको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँका आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

रोजगारीबाट फर्केका युवालाई आवद्ध गराउन नेपालमा व्यवस्था रहेका व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडित निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ दिने गरी कार्यक्रम तय गरिएको छ ।

कारोबारकै अर्को समाचार ‘व्यापार सहजीकरणमा सरकार उदासिन’ शीर्षकमा छ । भारत तथा तेस्रो मुलुकसँगको व्यापार सहजीकरणमा सरकार उदासिन हुँदा देशको मुख्य प्रवेशद्वार वीरगन्जका औद्योगिक र आर्थिक नगरीका उद्योगी व्यवसायीहरु निराश बनेका छन् । नेपालमा आयातमा भइरहेको वृद्धि, बैंकहरुको उच्च ब्याजदर, सरकारी कार्यालयहरुको उद्योग व्यवसायमैत्री वातावरण नहुँदा उद्योगी व्यवसायीहरु निराश बनेका हुन् ।

नागरिकले ‘दाहालको गृहजिल्लामा चार अर्बका योजना’ शीर्षकको समाचारमा लेखेको छ– सत्तासीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् ।

दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नागरिककै अर्को समाचार ‘पनौतीमा अविवाहित महिलालाई पनि भत्ता’ शीर्षकमा छ । पनौती नगरपालिकाले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । जसअनुसार ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्धविच्छेद भएका र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ ।

नयाँ पत्रिकामा ‘४५ अर्बको दाल, २९ अर्बको चामल आयात’ शीर्षकको समाचार छ । नेपालमा कृषिवस्तुको आयात निकै बढी र निर्यात कम रहेको अवस्था छ । कृषि मन्त्रालयले २२ अर्ब बजेटमध्ये १२ अर्ब कृषकलाई अनुदानमा खर्च गरे पनि प्रतिफल निराशाजनक बनेको छ ।

अनुदानका नाममा खर्चिएको रकम बालुवामा पानी हाले सरह हुँदै गएको छ । नयाँ पत्रिकाको अर्को समाचार ‘वीर अस्पतालमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट’ शीर्षकमा छ– क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ । भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो ।

‘महिना ६, उजुरी २७१६’ शीर्षकमा अन्नपूर्ण पोस्ट्मा खबर छ– स्थानीय तह भ्रष्टाचारको दलदलमा फसेका छन् । पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ । तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन् ।

कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ । तहमा राज्यको रकम जथाभावी डोजर, गाडी खरिदमा दुरुपयोग भइरहेको छ । स्थानीय तहका प्रमुख उपप्रमुखले डोजर किनेर आफैंले प्रयोग गरिरहेका छन् ।

अन्नपूर्णकै अर्को समाचार ‘एक मात्र जीवित कम्युन’ शीर्षकमा छ । महोत्तरीको बर्दिबास गौरीडाँडास्थित आधारशीला कम्युनको खबर छ– कम्युनिस्टहरुले लामो समयदेखि समाज र जीवन बदल्ने सपना देख्दै देखाउँदै आएका छन् । यही विचारसँग सहमत १३ परिवार आधारशीलामा सामूहिक बसोबास गर्छन् ।

यसको स्थापना २०५९ सालमा गरिएको थियो । आधारशिला पुग्ने जोसुकैले महसुस गर्न सक्छ, यहाँको जीवन अन्यत्रभन्दा फरक छ । सामूहिक जीवनशैली छ । फरकफरक जातका मानिस एकै ठाउँ बस्छन् । व्यक्तिगत सम्पत्ति छैन । कामको बाँडफाँड गरिएको छ । सदस्यले विभिन्न उत्पादनमूलक काम गर्छन् र कम्युनको खर्च धान्छन् ।


सम्बन्धित समाचार