fbpx

बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्न चुनौती !



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्।

नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित नभएको प्रमुखहरुको सुझाव छ ।

उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि निर्देशन दिएका छन् ।

ब्रिटेनका स्वास्थ्य मन्त्रीले तस्बिर राख्ने सामाजिक सञ्जाल इन्स्टाग्रामका प्रमुख अधिकारीहरूसँग आत्महत्यासम्बन्धी सामग्रीहरूका बारेमा भेट्ने तयारी भइरहेको समयमा निर्देशिका प्रकाशित भएको हो।

किशोर उमेरकी मोली रसेलको आत्महत्याको एक कारकको रूपमा उनको इन्स्टाग्रामका हानिकारक सामग्रीसम्मको पहुँचलाई मानिएको छ। उनको बुवाले इन्स्टाग्रामले आफ्नो छोरीलाई मार्न सहयोग गराएको बताएका थिए।

ब्रिटेनको प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक साली डेभिसले उक्त घटनालाई दुखान्त भन्दै केही बालबालिका अनुचित सामग्रीसम्म पुगिरहेको स्पष्ट भएको बताएकी थिइन्।

उनले बालबालिकाहरूलाई सुरक्षित राख्नु सामाजिक सञ्जाल कम्पनीहरूको कर्तव्य भएको भन्दै उनीहरूले उमेर प्रमाणित गरेर मात्रै चलाउन पाउने प्रविधि निर्माण गर्नुपर्ने बताएकी छिन्।

निर्देशिकाको सुझाव

  • खाना खाने टेबुलमा मोबाइल फोन वर्जित गर्ने ।
  • परिवारसँगको कुराकानी बालबालिकाको विकासका लागि महत्त्वपूर्ण हुन्छ।
  • शयनकक्षबाट मोबाइल र टिभी टाढा राख्ने ।
  • परिवारमा इन्टरनेटका जोखिमहरू र बालबालिकाले समस्या परेमा के गर्ने भनेर छलफल गर्ने।
  • सडक काट्दा वा सवारी हाँक्दा मोबाइल फोन प्रयोग नगर्ने ।
    दुई घन्टाभन्दा लामो समय मोबाइल वा टिभी लगातार प्रयोग नगर्ने ।
  • अभिभावकले आफ्नो प्रयोग पनि नियन्त्रण गर्ने ।
  • अभिभावकले बालबालिकालाई समय दिनु आवश्यक हुन्छ।

अध्ययनकर्ताहरूले मोबाइल फोनको प्रयोगले मानसिक स्वास्थ्यमा असरका विषयमा भएका अध्ययनहरू अपुग भएको बताएका छन्।

उनीहरूले केही अध्ययनहरूले मोबाइल फोनको प्रयोगले चिन्ता र डिप्रेसनजस्ता नकारात्मक असर पार्ने देखाएपनि यो विषय अझै अनिर्णित नै रहेको बताए। एजेन्सी


सम्बन्धित समाचार