fbpx

एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन, परीक्षा चैत १० गतेदेखि शुरु हुँदै



नेपालबहस संवाददाता
 




काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा मंगलबार विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए ।

उनका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारीसमेत लिएका थिए । परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए ।

बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कूल एक हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराए ।

उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य छ विषयको समानान्तर समूहबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षणका लागि करीब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने गरिएको छ । यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।

यसैबिच, यस वर्ष माध्यमिक शिक्षा परिषद् ‘एसईई’ को व्यवस्थापन प्रदेशले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ ‘संशोाधन’ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् ।

एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

‘सातवटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुन्छ । उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको छन्,’ पौडेलले भने, ‘पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरकफरक हुन्छ । फागुन १ गते आजदेखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु हुँदै छ ।


सम्बन्धित समाचार