fbpx

बिहानैदेखि अवरुद्ध विपी राजमार्ग खुल्यो 



नेपालबहस संवाददाता
 




सिन्धुली ।  सडक दुर्घटनाको विषयलाई लिएर स्थानीयले अवरुद्ध गरेको बिपी राजमार्ग सुचारु भएको छ। घाइतेको उपचार र दोषीलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग सुचारु भएको हो। अाज बिहान क्याम्पस पढन जाँदैगर्दा बा ३ च ६७५१ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुई छात्रा घाइते भएका थिए। सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आएको थियो।

घाइतेको उपचार र दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले राजमार्गसमेत अवरुद्ध पारेका थिए। प्रहरीले ठक्कर दिई फरार रहेको भ्यानलाई नियन्त्रणमा लिएपछि विद्यार्थीले सडक अवरुद्ध छाडेर प्रहरीसँगको त्रिपक्षीय छलफलमा गएका थिए। प्रहरी,राजनीतिक दल र विद्यार्थी प्रतिनिधिको छलफलमा प्रहरीले क्षतिपूर्ति दिलाउन पहल गर्ने,घाइतेको उपचार गर्ने,ट्राफिक नियमको पालना गराउने,माझिटारदेखि ढुङ्ग्रेबाससम्म क्याम्पस पढ्न जाँदा र पढेर फर्कंदा सुरक्षित यात्राको व्यवस्था गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको विद्यार्थी नेता उत्तम पहाडीले जानकारी दिए।

ठक्करबाट राजमार्गमा पैदलयात्रागरी क्याम्पस जाँदै गरेकी गोलञ्जोर गाउँपालिका– तीन घर भएकी १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका  ११ निवासी १८ वर्षीया मुनी थापा घाइते भएका थिए। घाइतेमध्ये मुनी थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रोजिनाको सिन्धुली अवस्थामा उपचार भइरहेको छ।

छात्रालाई ठक्कर दिई फरार रहेको बोलेरोलाई प्रहरीले बिपी राजमार्ग हुँदै खुर्कोट तर्फ जाँदै गरेको अवस्थामा गढीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। सवारी र चालकलाई नियन्त्रणमा लिइएकाले सवारी ऐनअनुसार कारबाही हुने प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।


सम्बन्धित समाचार