fbpx

देश सुशासन र समृद्धितर्फ, अब रोकिदैन यात्रा : प्रधानमन्त्री ओली



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब यो यात्रा नरोकिने समेत बताए । देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे ।

गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि बताए ।

अहिले सरकारसँग स्पष्ट नीति, गन्तब्य र कार्यदिशा भएकाले अब विकासको लहर समातिसकेको उनले बताए ।कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले युवा जनशक्तिलाई श्रम बजारमा ल्याउन नसके राज्यले सामाजिक सुरक्षा जस्ता कार्यक्रम धान्न नसक्ने बताए । कूल जनसंख्याको ठूलो हिस्सा युवा जनशक्ति रहेकाले उनीहरुलाई श्रम बजारमा आकर्षित गर्न जरुरी रहेको उनको भनाई छ ।

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकारले आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको हो ।

विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने श्रममन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।

क्षमता तथा सीप अभावका कारणले बजारमा देखिएको श्रमिकको माग र आपूर्तिका बीचमा अन्तरलाई कम गर्न यस कार्यक्रमअन्तर्गत उनीहरुका लागि क्षमता तथा सीप विकास तालीम कार्यक्रमसमेत सञ्चालन गरिने श्रम मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार