fbpx

कोलकाता बन्दरगाहमा ‘इसिटिएस’ लागू हुँदै, नेपाललाई होला त फाइदा ?



नेपालबहस संवाददाता
 




काठमाडौं । कोलकाता बन्दरगाहले शुक्रबार आजबाट देखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम ‘इसिटिएस’लागू गर्दै छ ।

यो प्रणली लागू भएसँगै अब तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने सामानलाई विनाझण्झट ल्याउन सकिनेछ । यो प्रणालीले विद्युतीय माध्यमबाट काम गर्ने हुँदा कागजपत्रको झण्झट हट्ने बताइएको छ ।

कोलकाता बन्दगरगाहबाट तत्कालका लागि आजदेखि रेलको कन्टेनरमा आउने सामानमा मात्र इसिटिएस सुविधा लागू गर्ने जनाइएको छ ।

केही महिनापछि नै ट्रकमार्फत ढुवानी हुने कन्टेनरमा समेत सो सुविधा लागू गरिने बताइएको छ । नेपालले प्रयोग गर्दै आएको अर्को बन्दरगाह विशाखापट्टनममा ८ महिनायता इसिटिएस प्रणाली कार्यान्वयनमा छ ।

नेपाललाई होला त फाइदा ?

इसिटिएस प्रणाली लागू भएपछि नेपाली आयातकर्ताहरुलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । हाल यसरी सामान आयात गर्दा क्लियरिङ एजेन्टमार्फत विभिन्न ८ वटा कागजपत्र करिब २२ ठाउँमा दस्तखत प्रमाणित गराउनुपर्ने गराउनुपर्ने झन्झटिलो व्यवस्था छ । इसिटिएस लागू भएपछि भने यो झण्झट हट्नेछ ।

यसको अर्को फाइदा भनेको कन्टेनर बुझाएको समयावधि छोटिने छ । तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने सामान पानीजहाजबाट कोलकाता बन्दरगाहमा झार्ने बित्तिकै कन्टेनर बुझाएको समय शुरु हुने साविकको व्यवस्था रहेकोमा अब भने शिपिङ लाइनले नेपाल-भारत नाका वीरगञ्ज भन्सारसम्म कन्टेनर पुर्याएपछि मात्र उक्त समय गणना हुनेछ ।

सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्ने प्रावधान रहेको छ, जसले गर्दा कन्टेनर बुझाएको समय सुरु भएदेखि वीरगञ्जसम्म सामान ल्याउन ढिलाइ भएमा र कन्टेर फिर्ता पठाउन २१ दिन नाघेमा प्रतिदिन ४५ देखि १०५ डलरका हिसाबले प्रतिकन्टेनर ‘डिटेन्सन शुल्क’ लाग्ने गथ्र्यो । सो समय छोटिने भएपछि नेपाली आयातकर्तालाई फाइदा हुने भएको छ ।

कोलकाता बन्दरगाहबाट नेपाल सामान ल्याउनका लागि पहिलोपटक इसिटिएस  प्रणाली लागु गर्न लागिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताएका छन् । उनका अनुसार सो प्रणाली लागु भएपछि कोलकातामा अहिलेसम्मका सबै कागजी र एजेन्टले दिने झन्झट सबै समाप्त हुनेछ ।

यसका साथै ठाउँठाउँ राख्नुपर्ने क्लियरिङ एजेन्टहरुले हस्ताक्षर गराउनुपर्ने लगायतका निहुँमा अनियमितता गर्दै आएको पाइन्छ । सामान जाँचपासलगायतका कामका लागि आयातकर्ता व्यवासायीहरुले एजेन्टहरुलाई भनेजति नै पैसा बुझाउनुपर्ने, जाँचपास गराउनमा ढिलाइ र झण्झट व्यहोर्नुपर्ने अवस्था थियो ।

महावाणिज्यदूत अर्यालका अनुसार इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि भने आयातकर्ताहरुको सामान अनलाइन प्रणालीमार्फत वीरगञ्जसम्मका लागि जाँचपास भई आउने हुँदा यो झञ्झटबाट व्यवसायीहरु मुक्त हुनेछन् । तर सुविधाका लागि नेपाली आयातकर्ता व्यवसायीले ३ हजार ३ सय भारु कोलकाता बन्दरगाहलाई शुल्क तिर्नुपर्ने जनाइएको छ ।

त्यो शुल्क कन्टेनरमा जडान हुने एकप्रकारको इलेक्ट्रोनिक डिभाइसका लागि प्रतिडिभाइसका हिसाबले तिर्नुपर्ने हुन्छ ।


सम्बन्धित समाचार