fbpx

पश्चिमी वायु सक्रिय : आज देशभर सामान्य बदली हुने सम्भावना !



नेपालबहस संवाददाता
 




काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो ।

काठमाडौँ उपत्यकामा तीन÷चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले शुक्रबार आजदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

भोली शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।


सम्बन्धित समाचार