fbpx

उपसचिव लामिछानेसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



नेपालबहस संवाददाता
 




काठमाडौं । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभागमा कार्यरत उपसचिव बाबुराम लामिछानेसहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा कार्यरत हुँदा लामिछानेले भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

लामिछानेसँगै मिलेर हाल यातायात व्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकालले सवारी दर्ता ढड्डामा बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछी सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएन आएकोले दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ। यस्तै अख्तियारले बाँकेस्थित भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगञ्जमा रजिष्ट्रेशन फाँटमा कार्यरत खरिदार संजय कुमार ठाकुरविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनी पक्राउ परेका थिए। यस्तै आयोगले रुपन्देहीस्थित प्रगति माध्यमिक विद्यालय साविक गजेडी २ हाल कंचन १ बेलभरियाका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माविरुद्ध पनि भ्रष्टार मुद्दा दर्ता गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो सार्वजनिक सेवाको ओहोदामा बहाल रही लाभ लिएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।


सम्बन्धित समाचार