fbpx

बैंकहरुको ब्याजदर विवाद तत्काल समाधान गर्न प्रधानमन्त्री ओलीको निर्देशन



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदरबारे द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा निजी क्षेत्रका उद्योगी व्यवासायीहरुसंग छलफल  गर्दे प्रधानमन्त्री ओलीले बैंकको ब्याजदरबारे निकै गुनासा आएको भन्दै द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशनसमेत दिए ।

बैंकिङ क्षेत्र र उद्योगी–व्यवसायीलाई सँगै राखेर छलफल गरी समस्या समाधान गरिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सहमति हुन नसके सरकारले हस्तक्षपसमेत गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो र अनुत्पादनक क्षेत्रमा ब्याजदर धेरै हुनुपर्नेमा पनि जोड दिए । उनले उत्पादन र रोजगारीका अवसर बढी भएका क्षेत्रमा बढी लगानी चाहेको भन्दै निर्भिक भएर स्वच्छताका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । उद्योगीको मागअनुसार चिनी आयातमा रोक लगाएपछि उनीहरुले चिनी गायब पारेको भन्दै उहाले आक्रोश व्यक्त गरे ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणाले वित्तीय क्षेत्रमा भएको लगानीयोग्य रकमको अभाव र ब्याजदरले उद्योगी–व्यवसायी मर्कामा परेको बताइन् । समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न निजी क्षेत्र पनि प्रतिवद्ध रहेको उनले बताइन् ।

अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुबै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने बताउनुभयो । छलफलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, चन्द्र ढकाल , उमेश श्रेष्ठ समेत लगाएत उपस्थीत थिए ।


सम्बन्धित समाचार