११ कार्तिक २०७८, बिहीबार
पूर्वाधार/विकास

सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार ११:३०


पाल्पा । डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो ।

सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहानमा माटो र ढुङ्गाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गरे।

स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ ।  स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहानमा सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या सिर्जना हुँदै आएको छ ।

जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रने देखिएको छ । गाउँमा जाने खानेपानीको टङ्की र बजार जाने आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । वर्षात्को समयमा फेरि समस्या हुन सक्ने चिन्ता छ ।

धजा बान्नेबाट तान्सिङगलसम्मको मोटरबाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा