काठमाडौं । पाँच वर्षको कार्यकाल निर्वाचित संघीय संसदले मंगलबारबाट एक वर्षे कार्यकाल पुरा गरेको छ । संसदको पहिलो अधिवेशन गत वर्ष फागून २१ मा शुरु भएको थियो । संघीय संसदले एक वर्षमा संविधान कार्यान्वयनसँग जोडिएका अधिकांश कानुन निर्माण गरेको छ ।
मौलिक हक कार्यान्वयन गर्ने १७ वटा र संविधानसँग बाझिएका १ सय ६१ वटा कानुन संशोधन भएको संसद सचिवालयले जानकारी दिएको छ । यसबाहेक संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारसम्बन्धी कानुन बनाउने प्रक्रियासमेत शुरु भएको छ ।
पहिलो अधिवेशनमै संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित गरेको थियो ।
गत वर्ष मंसिरमा चुनाव भएपनि राष्ट्रियसभाको गठन हुन ढिलाई हुँदा अधिवेशन केही ढिलो गरी फागुन २१ गतेदेखि सुरु भएको थियो ।
संघीय संसदमा चारवटा मात्र राष्ट्रिय मान्यता प्राप्त राजनीति दल सहभागि छन् । सत्तारुढ नेकपा, प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम संसदमा राष्ट्रिय मान्यता प्राप्त दल भएका छन् ।
यो संसदमा सत्तारुढ नेकपासँग झण्डै दुई तिहाई मत रहेको छ, भने प्रतिपक्ष कांग्रेसको भने कमजोर उपस्थिती रहेको छ ।