काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वुमनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जाने भएकी हुन्।
मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी पनि दिए।
सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिएका छन्।
उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
गत फागुन १३ गते संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४० औं बैठकमा सहभागी हुन जेनेभा पुगेका परराष्ट्रमन्त्री ज्ञवालीसँग उच्चायुक्त बेचेलेटले नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिको पनि खुलेर प्रशंशा गरेका थिए।
उनले जेनेभा बसाईको क्रममा परिषद बैठकमा सहभागी विभिन्न देशका समकक्षीहरुसँग द्धिपक्षीय भेटवार्ता गरी नेपालले मानव अधिकारको संरक्षणको क्षेत्रमा पु–याउँदै आएको योगदानबारे जानकारी गराइएको पनि बताए।