८ चैत्र २०७९, बुधबार
राजनीति

रेशम चौंधरीको फैसला मान्य नहुने महतोको भनाइ , राष्ट्रिय विद्रोह सुरु गर्ने चेतावनी

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १७:२८


काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीलाई प्रतिक्रिया दिदै सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसलालाई ‘अन्यायमाथिको पनि अन्याय’ भन्दै टिप्पणी गरे ।

उनले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुने’ बताए । नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको  भनि आक्रोश पनि व्यक्त गरे ।

यसैबीच, कैलाली जिल्ला अदालतले रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालको आकस्मिक बैठक अहिले बसिरहेको छ ।

राजधानीको बबरमहलमा दिउँसो साढे तीन बजे बैठक सुरू भएको हो । बैठकमा अब कसरी अघि बढ्ने विषयमा छलफल भैइरहेको राजपाका एक नेताले नेपालबहस डटकमलाई बताए ।

उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा अभियुक्त रहेको अवस्थामा हतारहतार शपथ खुवाइएका रेशम चौधरीको सांसद पद खारेज हुने गरी कैलाली अदालतले बुधबार मात्रै फैसला गरेको छ ।

उता टीकापुर घटनामा दोषी ठहर हुने जिल्ला अदालतको फैसलाले निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने उनले बताए । अदालतले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले आज फैसला सुनाएको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा