काठमाडौं । राहत शिक्षक तथा बाल विकास केन्द्र ‘इसिडी’का सहयोगी कार्यकर्ताको सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका छन् ।
केही दिनयता काठमाडौंको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको हो ।
सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् ।
मन्त्रालयले ती शिक्षकसँग ¬‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक÷खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने¬’ सहमति भएको हो । सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख छ ।
ती शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए ।