काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । ।
उनले विश्वभरका श्रमिक महिलाहरुको महान् उत्सवको दिन १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना सहित बधाई ज्ञापन गरेका छन् ।
‘यस अवसरबाट सम्पूर्ण नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गर्दछु,’ उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।
संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उनले जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्ने धारणा राखेका छन् ।
‘संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो,’ उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागीता बढ्दै गईरहेको मैले महसुस गरेको छु ।’
महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नरहेको उनको भनाइ छ । मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारका लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुर्नेमा उनले जोड दिउका छन् ।