यज्ञराज उपाध्याय
कैलाली । कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साँझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजीपुरको बीचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडीमा आगो लगाईएको हो ।
बसमा आगजनी गरिदा बस पुर्णरुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन । उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सिनाका अनुसार गोदावरी क्षेत्र नजिकैबाट बिहिवार तिनजना विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।
उनका अनुसार पक्राउ तिनै जना धनगढीतर्फ आईरहेका गाडीलाई रोकिरहेका थिए । त्यसैले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको उनले बताए ।
बिहिवार बिप्लवको नेपाल बन्दसमेत भएकाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । ठुला सवारी साधनहरु बन्द गरिएका छन भने ठाँउ ठाउँमा बमहरु राख्ने, आगजनी गर्ने जस्ता अनैतिक क्रियाकलाप समेत भैरहेका छन ।
एसपी तिमिल्सिनाले अनैतिक काम गर्नेलाई कानुन बमोजिम कारवाही गरिने र कसैलाई पनि नछोडिने बताए । उनले जिल्लाको सुरक्षा व्यवस्ता मजबुत भएको बताउदै कहिँ पनि घटना हुन नदिन प्रहरी लागिपरेको समेत बताए ।
विभिन्न जिल्लाबाट कैलाली आउने गाडीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको र गोप्य सुचनाका आधारमा पनि प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरिरहेको बताए ।