भारत । भारतको मुम्बईमा पुल भत्किँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ मुम्बईस्थित छत्रपति शिवाजी रेल स्टेशन नजिकै पैदलयात्रीका लागि बनाइएको पुल अकस्मात भत्किँदा ६ जनाको मृत्यु भएको हो भने ३३ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते हुनेको अबस्था गम्भिर रहेकाले मृत्यु हुनेको संख्या बढन सक्ने बताइएको छ । मानिसहरुको आवतजावत बढि भएको समयमा सो दुर्घटना भएको हो । पुल खसेपछि सो स्थानमा आवागमन रोकिएको छ ।
पुल खसेको घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो मात्रै सो पुलको मर्मत गरिएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन् । भारतकै वाराणसीमा एक वर्षअघि यस्तै पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो ।