अछाम । नेपाल कम्युनिस्ट पार्टीहरूको गढ मानिने अछाम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ छाडि सयौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
अछाम जिल्लाको ढकारी गाउँपालिकामा आयोजित गाउँपालिकास्तरीय आमसभामा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले नेपाल बहसडटलाई जानकारी दिए ।
नेकपाले निर्वाचनका बेला जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
सभापति स्वाँरका अनुसार नेकपाका काशिराम साउँद, विराखर जैसीसहित २०–२२ जना नेता तथा कार्यकर्तालाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले पार्टी प्रवेश गराएका हुन् । साउँद वडाध्यक्षका उम्मेदवार पनि हुन् ।
सभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिस्टहरू बोली र व्यवहारमा अन्तर रहेको बताए । ‘जनतालाई झुक्काउन कम्युनिस्टहरू माहिर हुन्छन्’, उनले भने, ‘कम्युनिस्टहरूका कारण देश द्वन्द्वमा फस्दै गएको छ ।’अछाम जिल्लाबाट तत्कालीन एमालेका नेता भीमबहादुर रावल निर्वाचित भएका हुन् ।