काठमाडौंं । नेपाली कांग्रेसले सत्ताको बागडोर संहालेर बसेको केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी पनि नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराएको छ।
कांग्रेसले हिंसात्मक बिद्रोहमा गएको बिप्लब समूहलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरेको छ।
केही समय यता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमका बारे आफ्नो धारणा प्रष्ट्याउँदै कांग्रेसले शान्तिपूर्ण बार्ताबाट शान्तिपूर्ण समाधान नै एकमात्र बिकल्प भएको जनाएको छ।
‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न’ प्रबक्ता बिश्वप्रकाश शर्माद्धारा जारी बिज्ञप्तिमा भनिएको छ,‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न हामी सरकारलाई आग्रह गर्दछौं।’
नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउन पनि कांग्रेसले सार्वजनिक अपिल गरेको छ।