काठमाडौं । नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ। नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन्।
प्रस्ताव अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारेका हुन्। ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार आज बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ।
एकताका क्रममा तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादीले सचिव र तत्कालीन एमालेले सचिव पाएको ठाउँमा तत्कालीन माओवादीले अध्यक्ष लिने समझदारी थियो।
सोही आधारमा अध्यक्षद्वयले जिल्ला अध्यक्ष र सचिवको नामावली तयार पारेका हुन्। केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आइतबार बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिए। ‘सचिवालय बैठकपछि तल्लो तहसम्मको एकता प्रक्रिया अगाडि बढ्ने स्रोतले बताएको छ ।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई निश्चित विधि र प्रक्रियाका आधारमा सचिवालयले अन्तिम रूप दिने र स्थायी समितिबाट अनुमोदन गर्ने तयारी नेकपाको छ। अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेकाले त्यसअघि नै सचिवालयमा प्रस्तावमाथि छलफल हुन लागेको हो।
पार्टी तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्रै असन्तुष्टि बढेको थियो। आठ लाखभन्दा बढी नेताकार्यकर्ता भूमिकाविहीन थिए। एकता प्रक्रियामा भएको ढिलाइपछि स्थायी समिति बैठकले गत पुसमा कार्यदल बनाई टुंग्याउने निर्णय लिएको थियो।
प्रस्ताव तयार गर्न नसकेर कार्यदल विघटन भएपछि सचिवालय बैठकबाट म्यान्डेट लिएर ओली–दाहालले प्रस्ताव तयार पारेका हुन्। उक्त प्रस्तावलाई सचिवालयबाट अन्तिम रूप दिन लागिएको नेताहरूले बताएका छन्।