काठमाडौं । पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायतका विषयमा निर्णय गर्न आजका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनका लागि पदाधिकारी लगायतका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय सानेपामा जम्मा भएपनि बैठक अझै शुरु भएको छैन।
बिहान ११ बजे बस्ने भनिएको बैठकमा पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही लगायत समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने तय गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र बिजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह लगायतका नेताहरु सभापतिको कार्यकक्षमा अनौपचारिक छलफलमा छन्।
यसैगरी बरिष्ठ नेता पौडल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेबी यादब, पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला, बलबहादुर केसी लगायतका नेताहरु पौडेलको कार्यकक्षमा अनौपचारिक छलफल गरिरहेका छन्।
करिब ५० जना केन्द्रीय सदस्यहरु बैठकका लागि पार्टीका कार्यालयमा जम्मा भइसकेका छन्। यसअघि आइतबार सभापति देउवा निबास बुढानीलकण्ठमा सहमति जुटाउन पदाधिकारी, पूर्ब पदाधिकारी सहित बरिष्ठ नेताहरुको बैठक बसेको थियो।
यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसकेपछि स्थगित गरिएको थियो।