६ कार्तिक २०७८, शनिबार
विदेश

मोजाम्बिकमा आँधीबाट १ हजारभन्दा बढीको मृत्यु, ५ लाख घर क्षतिग्रस्त

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार १०:२३


काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा आएको ‘इदाई’ नामको आँधीबाट १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । राष्ट्रपति फिलिप न्युसीले प्रभावित क्षेत्रको हवाई भ्रमण गर्दै शवहरु नदीमा तैरिरहेको बताएका छन् ।

१७७ किलोमिटर प्रतिघण्टाका दरले आएको आँधीका साथै तटीय शहर बेइरानजिक पहिरो आएर गत बिहीबार क्षति पुगेपनि उद्दारकर्मीहरु आइतबारमात्र प्रभावित क्षेत्रमा पुगेका थिए ।

बेइरा शहरमा ५ लाख मानिसका घर क्षतिग्रस्त भएका छन् । राष्ट्रसंघीय खाद्य कार्यक्रमका गेराल्ड बर्कले क्षति नपुगेको कुनै घर नभएको र विद्युत तथा सन्चार सम्पर्क विच्छेद भएको जनाएका छन् ।

शहरका सडकभरि ढलेका विद्युत पोल छन् । अन्तर्राष्ट्रिय रेडक्रसले क्षति व्यापक र भयानक भएको जनाएको छ । भवनका अवशेष र रुख ढलेर १५०० मानिस घाइते भएका छन् ।

जिम्बाबेमा ९८ जनाको मृत्यु भएको छ भने २१७ जना हराइरहेका छन् । मृत्यु हुनेमध्ये स्कुले बालबालिकासमेत रहेको जनाइएको छ । मलावीमा १ सय २२ जनाको मृत्यु भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा