काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कृषिका क्षेत्रमा चीनको सहयोग अपरिहार्य भएको बताएका छन्। चीन भ्रमणमा रहेका मन्त्री खनालले सिचुवान प्रान्तको इविन शहरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनका क्रममा मन्त्री खनालले चिया उत्पादन र अनुसन्धानमा नेपाल चीन सहकार्यको आवश्यकता देखेका हुन्।
नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै मन्त्री खनालले चीन सरकारसँग सहकार्यको प्रस्ताव राखेको जनाइएको छ।
सो अवसरमा मन्त्री खनालले नेपालमा गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति बनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्वबजारमा पु¥याउन इविनले उपलब्ध गराएको मञ्च नेपालका लागि ठूलो अवसर हुने उल्लेख गरे।
चिनियाँ उपकरण तथा मेसिनको प्रयोग गरी नेपालमा हाल चिया उत्पादन गर्ने एक सय बढी साना कारखाना सञ्चालनमा छन्। नेपालमा ठूलो मात्रामा चिया उत्पादन भए पनि न्यून परिमाणमा मात्र चिया चीनतर्फ निर्यात भएको छ।
राणा प्रधानमन्त्री जङ्गबहादुरलाई चिनियाँ सम्राटले उपहारस्वरुप दिएको चियाको बीउ पूर्वी नेपालको इलाममा रोपेपछि नेपालमा चियाखेतीको शुरूआत भएको यस क्षेत्रका जानकारको भनाइ छ। सम्मेलनमा नेपाली किसान तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित ४० देशका झण्डै एक हजार प्रतिनिधिको सहभागिता रहेको छ।
मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० मा हुन लागेको लगानी सम्मेलनमा मित्र राष्ट्रहरुको सहभागिता र समन्वयको खाँचो रहेको औल्याएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।