काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रतिबन्धित नेकपा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान भएको छ। विप्लव समूहका सदस्यलाई पछ्याउँदै गएको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।
उनले भने, ‘विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गर्नु परेको थियो। विप्लव समूहका दुईजनालाई नियन्त्रणमा लिएका छौं । ‘पक्राउ परेका दुई जना विप्लव समूहको बम बनाउने टोलीका सदस्य भएको बुझिएको छ।
तर, संचारमाध्याममा काभ्रेमा गोली चलेको बारे समाचार भाइरल भइरहँदा काभ्रेका एसपी रविराज खड्कालाई भने कुनै जानकारी छैन । काभ्रेको कुन ठाउँमा गोली चलेको हो र के कति हताहत भए भन्ने नेपाल बहसको जिज्ञासामा आफुले पनि सामाजिक संजाल र संचारमाध्यामबाट घटनाबारे हल्ला सुन्दा छक्क परेको बताउँदै अहिलेसम्म आफुलाई कुनै जानकारी नभएको र नदिइएको दावी गरे ।
महानगरिय अपराध महाशाखाले स्थानिय प्रहरीसँग समन्वय गरेर नै काम गर्ने प्रचलन भएपनि काभ्रे जिल्लाभित्र गोली हानाहान भएको खबर हालसम्म प्राप्त नभएको एसपी खड्काले बताए । मातहतका निकायले काभ्रे जिल्लाभित्र कुनै घटना भए तुरुन्त जानकारी गर्ने गराउने प्रचलन भएकोले यस घटनाबारे काभ्रे प्रहरी पूर्णतः अनभिज्ञ रहेको बताए ।
यसबारे महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले केही समयअघि नेपाल बहससँग कुराकानी गर्दै भनेका थिए – ‘आज बिहान हाम्रो टोली उनीहरुको पिछा गर्दै काभ्रेको पनौती आसपास गएको सत्य भएपनि घटनाबारे यथार्थ जानकारी प्राप्त भइसकेको छैन । टोलीसँग फोन सम्पर्क हुन नसकिरहेकोले यसै भन्नसक्ने अवस्था रहेको छैन ।’ काभ्रे प्रहरीलाई हालसम्म कुनै जानकारी रहेनछ नि ? किन समन्वय नगरिएको हो भन्ने जिज्ञासामा एसपी ढकालले समन्वय गर्ने क्रममा रहेको दावी गरे ।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने वा घुँडामुनि गोली ठोक्ने आदेश प्रहरीलाई दिइसकेको छ ।