काठमाडौं । काठमाडौंमा होलीकै दिन अप्रिय घटना घटेको छ । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा काठमाडौंको डल्लुमा एकजनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ६ बस्ने २९ वर्षीय सुनिल बस्नेतको मृत्यु भएको हो। प्रहरीका अनुसार पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। काठमाडौं प्रहरी प्रमुख एएसपी वसन्त लामाका अनुसार मोटरसाइलमा विना हेल्मेट तीनजना सवार थिए। मोटरसाइकल सडकबाट ७० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते वस्नेतको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटना लगतै उक्त सवारी साधन भने साथीले उठाइ लगेकाले नम्बर पत्ता नलागेको प्रहरीको भनाइ छ। पैदल यात्रु भने सामान्य घाइते भएका छन्। होली खेल्ने क्रममा अभद्र व्यवहार गर्ने तथा सवारी साधन आवागमनलाई असर पुर्याउने दुई सय ९४ जना राजधानीबाट पक्राउ परेका छन्।
पक्राउ परेकालाई सामान्य सोधपुछपछि साँझ नै छाडिएको लामाले जानकारी दिए। होली खेल्नेक्रममा नयाँ बानेश्वरमा युवाबीच सामान्य झडपसमेत भएको छ। होलीको मौका छोपेर गाँजा बेच्ने तीन युवालाई पनि गौशालाबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै राजाधानी काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्ने युवाहरुबीच कुटाकुटा भएको छ । रंग दल्ने विषयमा दुई समूहबीच विवाद उत्पन्न भएको र उक्त बिबादले उग्र रुप लिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
केहीबेरको बोलाबोलपछि युवाहरुको दुई समूहबिच बोतल हानाहान भएको थियो । हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यसैबीच बुधबार मनाइएको होली पर्वमा उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ सय ९४ जनालाई पक्राउ गरेको छ । राजधानीको दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५ जना महिला पनि छन् । पक्राउ पर्नेहरुलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले होली पर्वको केहीदिन अघिदेखि नै विशेष सुरक्षा योजना लागू गर्दै जथाभावी रंग दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने बताउँदै आएको थियो ।
पक्राउ परेकाहरुमा हो–हल्ला गर्ने, झगडा गर्ने र ड्रिंक एण्ड ड्राइभ गर्ने पनि रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । उनका अनुसार बुधबार साँझ पक्राउ परेकाहरुलाई स्क्रिनिङ गरिनेछ र गम्भीर किसिमको कार्यमा संलग्नमाथि कसुर अनुसार मुद्दा पनि चलाइनेछ ।