काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।
मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
ओलीसँगै अन्य ८ जना कार्यकर्ता पक्राउ परेको स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।
विप्लव नेकपाका तीनवटा कमान्डमध्ये उपत्यका हेर्ने मध्य कमान्डका प्रमुख हुन् सुदर्शन। उनले गत फागुन १० गते ललितपुरको नख्खुमा एनसेल मुख्यालय बाहिर भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए। बिस्फोटमा एकजनाको मृत्यु र दुइजना घाइते भएका थिए।
को हुन् ओली ?
रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । ५ सदस्यीय समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि नै सक्रिय सुर्दशन २ पटक सांस्कृतिक विचलनको कारवाहीमा परेका थिए । दोस्रो विवाह गरेपछि तत्कालीन एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका उनलाई कारवाही गरिएको थियो ।
कारवाहीमा परेपछि उनले प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए । त्यसपछि विप्लवको नेकपासँग पार्टी विलय गराएका थिए । २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादी पार्टीमा राजीनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । माओवादी युद्धमा उनले छोरी गुमाएका थिए । तत्कालीन माओवादीभित्र राम्रो अंग्रेजी बोल्न र लेख्न जान्ने तथा अध्ययन र लेखनमा सक्रिय ओलीलाई पार्टीभित्र मास लिडरभन्दा सैद्धान्तिक प्रशिक्षण दिने नेताको रुपमा चिनिन्छ ।
केही दिनअघि पक्राउ परेका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहितको समूह मध्य क्षेत्र कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्य हुन् । प्रहरीले यसअघि नै नख्खु र बसुन्धारा बम विस्फोटमा संलग्न रहेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्कीमाथि मुद्दा चलाएको छ ।