काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन् ।
रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ गीतको भिडियोका लागि गरेका हुन् ।
औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको बिवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ ।
मेहन्दी,हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्य समेत म्यूजिक भिडियोमा समेटिएका छन् । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।
फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।