प्रकाश डोटेल
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नेत्रविक्रम चन्द (विप्लव) समूहका २ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भन्ने गोविन्द वली छन् ।
पोखरा महानगरपालिका २७ घर भएका पराजुली केहि समयअघि मात्रै विप्लव नेतृत्वको नेकपा स्याङ्जाको सेक्रेटरी भएर काम थालेका थिए । मजदुर महासंघ स्याङ्जाका अध्यक्ष वली पश्चिम रुकुम त्रिवेणी गाउँपालिका १ का स्थायी बासिन्दा हुन् ।
दुबै जनालाई प्रहरीले पुतलीबजार नगरपालिका १३ छहरी खोलातर्फ मोटरसाईकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार राज्यविरुद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि जिल्लास्थित सुरक्षा निकायले उनीहरुको गतिविधिलाई नजिकबाट नियाली रहेको थियो । प्रहरीका अनुसार उक्त समूहको अन्य गतिविधिलाई समेत नजिकबाट नियाली रहेका छौं ।