६ कार्तिक २०७८, शनिबार
राजनीति

कांग्रेसलाई महाधिवेशन लाग्यो, शीर्ष नेताहरू देश दौडाहाको प्रतिस्पर्धामा

प्रकाशित मिति :  १६ चैत्र २०७५, शनिबार ०९:१७


काठमाडौं । नेपाली कांग्रेसकाे विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ ।

विधानमा विशेष कारण देखाएर एकवर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् ।

केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ ।

नेताहरूले जिल्लामा सामान्य कार्यक्रम राखेर जाने गरेका छन् । वर्तमान कार्यसमितिले अहिलेसम्म पार्टीका विभिन्न विभागसमेत गठन गर्न सकेको छैन ।

प्रमुख भ्रातृसंगठन नेविसंघ, नेपाल तरुण दल पनि लथालिंग अवस्थामै रहेका वेला पार्टीका शीर्ष नेताहरू भने आगामी महाधिवेशनबाट नेतृत्व हात पार्ने अभियानमा जुट्नुलाई कार्यकर्ता असमञ्जसमा परेका छन् ।

देउवा र पौडेल सँगसँगै

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले २४ देखि २७ फागुनसम्म कास्की, म्याग्दी, पर्वतको कार्यक्रममा संयुक्त सहभागिता जनाए । त्यसपछि उनीहरू पूर्वी नेपाल र पश्चिम नेपालका १० वटाभन्दा बढी कार्यक्रममा तालिका बनाएर निस्किएका छन् ।

म्याग्दी र पर्वतमा सभापतिको कार्यक्रम तालिका आएपछि पौडेलले पनि आफ्नो लामो भ्रमणसूची सार्वजनिक गरेका थिए । यो समाचार नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा