बारा । चैत महिनाको दोस्रो साता नबित्दै पर्सा र बारामा हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। आइतबार साँझ करिब साढे सात बजे एक्कासी आएको हावाहुरीका कारण चारसय जना भन्दाबढी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ ।
साँझ एक्कासी असिनापानीसहित आएको हावाहुरीका कारण धेरै घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किएका, घरका छाना उडेका र रूखहरू लडेकाे उनले बताए । थप विवरण आउन बाँकी छ ।