काठमाडौं । नेपाल बारको शनिबार सम्पन्न निर्वाचनको मतपेटिका आइतबारसम्म पनि काठमाडौं आइपुगेको छैन ।
तीन वर्षे कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न भएको निर्वाचनमा देशभर ३५ मतदान केन्द्र तोकिएको थियो ।
काठमाडौंबाहेक ३४ वटा मतदान केन्द्रको मतपेटिका काठमाडौंस्थित बारको केन्द्रीय कार्यालय आइपुग्नु पर्थ्यो । तर, इलाम र दिपायल मतदान केन्द्रको मतपेटिका जहाज उडानमा अवरुद्ध भएपछि सोमबार बिहानमात्र काठमाडौं आइपुग्ने केन्द्रीय निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।
उनले जनकपुर र राजविराज मतदान केन्द्रको मतपेटिका काठमाडौं आइपुगे पनि निर्वाचन समितिको कार्यालयमा आइनपुगेको बताए ।
रिजालले सोमबार इलाम र दिपायलको मतपेटिका आइपुगेपछि जनकपुर र राजविराजको मतपेटिका पनि सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने बताए ।
उनले सोमबार मतपेटिका संकलनको काममा नै ढिलाइ हुने भएकाले मंगलबारबाट मतगणना शुरु गर्ने तयारी भएको बताए । निर्वाचन समितिले मतगणना १० ठाउँबाट गर्ने तयारीमा छ ।