काठमाडौं । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीभन्दा ७० मतको झिनो अन्तरले अग्रता लिएका छन् ।
गणना भएको मतअनुसार उनले दुई हजार ४४५ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिकका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मत ल्याएर पछ्याइरका छन् ।
बुधबार राति करिव साढे ९ बजेको पछिल्लो अपडेट अनुसार महासचिवमा लोकतान्त्रिक समूहका लिलामणि पौडेलले दुई हजार ४४५ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत ल्याएर पछ्याइरका छन् ।
अहिले काठमाडौं उपत्यकाको दुई हजार २२३ मत गणना भएको छ भने उपत्यका बाहिरको तीन हजार ४८६ मत गणना भइसकेको निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।
अब काठमाडौं उपत्यकाको दुई जिल्ला अदालत ललितपुर र भक्तपुरसहित सर्वोच्च अदालत बार इकाईको मत गणना भइसकेको छ भने, अब काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालत बार इकाईको मत गणना बाँकी रहेको उनले जानकारी दिए ।
यी दुई बार इकाईको मत गणना बिहीबार गरिने उनले जानकारी दिए । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।