Advertisement

आगामी वर्ष नेपाल भ्रमण वर्ष मनाउने तयारी छ । नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु परिचित गराउने र सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित यो अभियान चलाइएको हो ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’ मूल आयोजक समितिको बैठक बस्यो । सो अवसरमा प्रधानमन्त्रीले पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने, १० लाखलाई रोजगार अवसर सिर्जना गर्ने गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिनुभयो ।

पर्यटन नेपालको अर्थतन्त्रको एउटा महŒवपूर्ण क्षेत्र हो । यसले विदेशी मुद्रा आर्जन, रोजगारका अवसर सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि, उद्योग कृषिजस्ता अन्य क्षेत्रलाई टेवा दिएर समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग गर्दै आएको छ ।

Advertisement

विविध भौगोलिक अवस्था, धार्मिक विविधता, जीवित सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रर्वद्धनका लागि आवश्यक दृश्य, संस्कृति, जीवनशैली, मनोरञ्जन पार्क र हावापानी सबै रहेको छ जसका कारण नेपाल विश्वका पर्यटकका लागि गतिलो गन्तव्य बन्नसक्नेमा दुई मत छैन । तर, यस क्षेत्रको विकास भने पर्याप्त हुन सकेको छैन ।

विगतमा पनि विदेशी पर्यटक आकर्षित गर्ने प्रयास नभएका होइनन् । सन् १९९८ मा नेपाल भ्रमण वर्ष, २०११ मा नेपाल पर्यटन वर्ष, २०१२ लुम्बिनी भ्रमण वर्ष, पोखरा भ्रमण वर्षका अभियान चलाइयो । तर, १९९८ को अभियानबाहेक अरूले लक्ष्य हासिल गर्न सकेनन् । भौतिक पूर्वाधारको अभाव, राजनीतिक अस्थिरता, मैत्रीपूर्ण पर्यटन कानुन, पर्याप्त प्रचारप्रसारको अभाव, सडक र विमानस्थलको स्तरोन्नति नहुनु, नयाँ गन्तव्य स्थलको खोजी नहुनुजस्ता कारणले विगतमा लिइएको लक्ष्य हासिल हुन सकेनन् ।

सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । यो महŒवाकाङ्क्षी लाग्नसक्छ । तर, यहाँको सम्भावना र सरकारले गरिरहेको तयारीले लक्ष्य पूरा गर्न कठिन देखिँदैन । राजनीतिक स्थिरता हुनुका साथै उपयुक्त नीति नियम निर्माण भएका छन्, हुँदैछन् ।

प्रचारात्मक अभियानमा पनि सरकार र निजी क्षेत्र जुटेका छन् । धेरै पर्यटक आउने भारत र चीनमा अझै बढी प्रचारप्रसार नीतिका साथ नेपाल पर्यटन बोर्डले म्यानमार, भियतनाम, बङ्गलादेशबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने अपेक्षा राखेको छ । ती देशबाहेक अन्य देशमा पनि नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी दिइएको छ । नेपाल वायुसेवा निगमले थपेका दुईवटा जहाजले जापान र कोरिया उडान गरे पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

मुलुकभित्र बन्दै गएको सकारात्मक वातावरण र सरोकारवालाको प्रयासले पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । प्रयासलाई निरन्तरता दिँदै थप पर्यटक आकर्षित गर्ने लक्ष्य राख्नुपर्छ । पर्यटक सङ्ख्या मात्र होइन, यस क्षेत्रबाट हुने आम्दानीलाई पनि ध्यानमा राख्नुपर्छ । सरकारले प्रतिपर्यटक दैनिक ६५ डलर खर्च गर्ने र बसाइ अवधि १४ दिन पु¥याउने लक्ष्य राखेको छ । यो लक्ष्य भेट्न पर्यटकलाई आकर्षित गर्ने र पर्यटकीय स्थलहरूमा सुविधा वृद्धि हुनु जरुरी छ । पूर्वाधारको विकासको आवश्यकता छ ।

स्तरीय होटल, यातायात, आन्तरिक विमानस्थलदेखि लिएर गाउँ–घरका गोरेटो बाटो निर्माण र मर्मत गर्नुपर्छ । विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माणलाई गति दिनसके लक्ष्य पूरा गर्न कठिन छैन । आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन पनि आवश्यक छ ।

विश्व पर्यटनमा थपिएका उच्च प्रविधि र प्रयोगलाई समयानुकूल रूपमा उपयोग गर्नसके लक्षित पर्यटक देशमा भित्रिएर दस लाख नेपालीले स्वदेशमै रोजगार पाउने कुरामा दुई मत छैन ।

Advertisement