राजधानीमा नै एक महिनादेखि बाटो बन्द
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १६:४५:३१
काठमाडौं । मुलुककाे राजधानी शहर काठमाडौंमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्नु परेको छ ।
सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउँछिन् । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उनले भनिन् ।
यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउँछन् । “चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ”, उनको भनाइ छ ।
यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुशीदेखि ग्रीनल्याण्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन् । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए ।
काठमाडौंको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो । सामाखुशी ग्रीनल्याण्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौला ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउँछन् । “सरकारले पूर्वाधार निर्माणमा ढिला हुँदा लाखौँ जनताले दुःख पाएका छन्”, उनले भने ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुशी चोकदेखि ग्रीनल्याण्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउँछन् । “ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ”, उनी भन्छन् ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताइन् । “टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो”, उनी भन्छिन् । बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महीना लाग्ने उनको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार